काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ।
अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहेको छ। विदेशमा रहेका नेपालीहरूको संगठनात्मक एकता, प्रवासी नेपालीका साझा सवाल, हकहित तथा नेपालको समृद्धिमा प्रवासी समुदायको भूमिका र योगदानका विषयमा अधिवेशनमा छलफल हुने अपेक्षा गरिएको छ।
अधिवेशनलाई विशिष्ट अतिथिका रूपमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, प्रवास इन्चार्ज एवं उपमहासचिव लेखराज भट्ट र सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको आगामी नेतृत्व चयन गर्नुका साथै संगठनको भावी कार्यदिशा, नीति तथा कार्यक्रम तय गर्नेछ। विश्वका विभिन्न मुलुकमा क्रियाशील प्रवासी नेपालीहरूलाई एउटै संगठनात्मक सूत्रमा आबद्ध गर्दै प्रवासी नेपालीका समस्या र सम्भावनालाई संस्थागत रूपमा उठाउने विषय पनि अधिवेशनका महत्वपूर्ण एजेन्डा रहनेछन्।







प्रतिक्रिया