२०८३, २० कार्तिक शुक्रबार

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ


वीरगञ्ज । छठ पर्वलाई लक्षित गरी वीरगन्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । 

प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सिर्सिया नदीको सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।

नदीमा उद्योगबाट निस्कने रसायनयुक्त फोहोर पानी तथा प्रशोधन नगरिएको दूषित पानी मिसिने समस्या अन्त्य गर्न सम्बन्धित उद्योगहरूलाई कडाइका साथ निर्देशन दिइएको छ ।

नदीलाई सफा बनाउँदै श्रद्धालु भक्तजनले छठ पर्वमा स्वच्छ वातावरणमा पूजा तथा अघ्र्य दिन सक्ने अवस्था सिर्जना गर्न सरकार, सम्बन्धित सरकारी निकाय र स्थानीय तह सक्रिय भएका छन् ।

उद्योग विभागले यही कात्तिक १४ गते उद्योगहरूलाई नदीमा प्रशोधन नगरेको फोहोर पानी नछोड्न पुनः निर्देशन दिँदै संयुक्त अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ । त्यस्तै, कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनका लागि पाँच बुँदे निर्णय गरेको छ ।

बैठकले औद्योगिक क्षेत्रका उद्योगहरूलाई आफ्ना फोहोर पानी प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न तथा प्रशोधन नगरेको रसायनयुक्त पानी नदीमा नछोड्न निर्देशन दिएको छ ।

बैठकले साना तथा मझौला उद्योगका लागि साझा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गर्ने सम्भाव्यता अध्ययन, नगरपालिकाको ढल नदीमा मिसिन नदिन वैकल्पिक निकासको व्यवस्था तथा नदीको दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकारको सहभागितामा संरक्षण कोष स्थापना गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ ।

प्रदूषण गर्ने १२ उद्योगमाथि कारबाही

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले यसअघि पनि उद्योगहरूमाथि कारबाही गरेको थियो । गत साउन ५ गते सार्वजनिक विवरणअनुसार नदी आसपासका उद्योगहरूको फोहोर पानी परीक्षण गर्दा १२ उद्योगले वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि ती उद्योगलाई जनही १० लाख रुपैयाँका दरले कुल १ करोड २० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको थियो ।

जरिवानामा परेका उद्योगमध्ये सार्वजनिक समाचारमा नाम उल्लेख भएका ६ उद्योगमा जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, हुलास स्टिल इन्डस्ट्रिज प्रा.ली., शिवशक्ति घिउ उद्योग प्रा.ली., सुशील वनस्पति प्रा.ली., अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स र अशोक स्टिल इन्डस्ट्रिज प्रा.ली. रहेका छन् ।

सरकारको पछिल्लो सक्रियताले सिर्सिया नदीको सरसफाइलाई छठ पर्वसँग मात्र सीमित नराखी दीर्घकालीन रूपमा प्रदूषणमुक्त बनाउने लक्ष्य लिएको छ । यसका लागि उद्योगहरूको नियमित अनुगमन, फोहोर पानी प्रशोधन प्रणालीको प्रभावकारी सञ्चालन र मापदण्ड उल्लङ्घन गर्नेमाथि कानुनी कारबाहीलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

छठ पर्वमा श्रद्धालुले स्वच्छ नदीमा अघ्र्य दिन पाउने वातावरण निर्माण गर्नुका साथै सिर्सिया नदीको प्राकृतिक अस्तित्व जोगाउने र आसपासका नागरिकको जनस्वास्थ्य संरक्षण गर्ने सरकारको यो अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन निरन्तर निगरानी र कार्यान्वयन आवश्यक देखिएको छ ।

प्रकाशित मिति : २०८३, १७ कार्तिक मंगलबार  ४ : १३ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा