काठमाडौं । अर्नब चक्रवातको अवशेषस्वरूप पश्चिम नेपालनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएपछि देशभरको मौसममा क्रमिक सुधार हुन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र रहेको छ। अहिले लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली छ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, रातिको समयमा पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैबीच, तराई, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्न सक्ने भएकाले सडक तथा हवाई यातायातमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
चक्रवातको प्रभाव कमजोर हुँदै गए पनि केही स्थानमा वर्षा, हिमपात र हुस्सुको सम्भावना कायमै रहेकाले मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन महाशाखाले सुझाव दिएको छ।







प्रतिक्रिया