२०८३, १३ कार्तिक शुक्रबार

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा


काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक विपद्ले पर्यटन क्षेत्रमा क्षति पु¥याइरहेका बेला पर्यटनमा विश्वास जगाउने र विपद् न्यूनीकरणको सन्देश विश्वभर फैलाउने उद्देश्यले मे २०२७ मा विश्व शान्ति पूजा आयोजना गरिने भएको छ ।

नेपालका लागि बेल्जियमका पूर्व अवैतनिक वाणिज्यदूत समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ ट्राभल एजेन्ट्स (नाटा) का पूर्वकार्यकारी सदस्य आङ छिरिङ शेर्पाका अनुसार सोलुखुम्बुको त्याङ्बोचे, खुम्जुङ, लुक्ला र थुप्तेन छोलिङसँगै काठमाडौंमा शान्ति पूजा आयोजना गर्ने तयारी छ । यससँगै खुम्जुङमा वातावरण र पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

शेर्पाले हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र विपद्ले पर्यटन व्यवसायीको लगानी तथा पर्यटकको सुरक्षाप्रतिको विश्वासमा असर पारेको बताए । देशमा शान्ति र विश्वासको वातावरण नबनेसम्म पर्यटनमा अपेक्षित सुधार र लगानी विस्तार कठिन हुने उनको भनाइ छ ।

‘सगरमाथा विश्वको सर्वोच्च शिखर र लुम्बिनी बुद्ध जन्मिएको पवित्र भूमि भएकाले नेपालबाट विश्व शान्ति र वातावरण संरक्षणको सन्देश दिन चाहन्छौं,’ उनले भने । उनका अनुसार पछिल्लो समय नंगा पर्वत, हिम्लुङ हिमाल तथा भोटेकोसी क्षेत्रमा भएका घटनाले पर्वतीय पर्यटनमा संलग्न जनशक्ति र व्यवसायमा क्षति पुगेको छ । बुढीगण्डकी, मनाङ र मुस्ताङलगायत क्षेत्रमा भएका विपद्ले पनि पर्यटन क्षेत्रमा चिन्ता बढाएको उनले बताए ।

विश्वका विभिन्न देशबाट उच्च आध्यात्मिक गुरु, बौद्ध धर्मगुरु र उनीहरूका अनुयायीलाई कार्यक्रममा सहभागी गराउने आयोजकको तयारी छ । अमेरिकाको न्यूयोर्कबाट मात्रै करिब १० जना सहभागी आउने अपेक्षा गरिएको शेर्पाले बताए । भारत, भियतनामलगायत देशबाट पनि धर्मगुरु र अन्तर्राष्ट्रिय सहभागी आउने अपेक्षा गरिएको छ ।

विश्व शान्ति पूजासँगै खुम्जुङमा तीनदिने कार्यक्रम आयोजना गरिनेछ । त्यसअन्तर्गत एक दिन वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी, अर्को दिन खुम्बु क्षेत्रको पर्यटन विकास र त्यसलाई विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा छलफल तथा तेस्रो दिन स्थानीय तथा आदिवासी पर्यटनको अवधारणामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालालाई पनि आमन्त्रण गरिनेछ । पर्यटन विकास र वातावरण संरक्षणसम्बन्धी घोषणापत्र जारी गर्ने अपेक्षा गरिएको शेर्पाले बताए । यसबाट हिमाली क्षेत्रमा वातावरण संरक्षण, दिगो पर्यटन र विपद् न्यूनीकरणका विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

चार स्थानमा हजारौं सहभागीको अपेक्षा

सोलुखुम्बुका चार स्थानमा हुने पूजामा हजारौं श्रद्धालु तथा पर्यटक सहभागी हुने अनुमान गरिएको उनले बताए । शेर्पाका अनुसार त्याङ्बोचेमा ८ देखि ९ हजार, खुम्जुङमा १५ देखि १६ हजार, लुक्लामा २० देखि २१ हजार र थुप्तेन छोलिङमा ७ देखि ८ हजार सहभागी आउने अपेक्षा गरिएको छ । काठमाडौंमा हुने कार्यक्रमको सहभागी संख्या भने व्यवस्थापन क्षमताका आधारमा तय गरिनेछ ।

आयोजक संस्था क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको सञ्जाल नेपालका २२ हिमाली जिल्लामा रहेको शेर्पाले बताए । उनका अनुसार यो संस्था संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको माउन्टेन पार्टनर्स सञ्जालको सक्रिय सदस्य हो ।

विश्व शान्ति पूजालाई धार्मिक तथा आध्यात्मिक कार्यक्रमका रूपमा मात्र नभई पर्यटन प्रवद्र्धनको अवसरका रूपमा पनि उपयोग गर्ने आयोजकको योजना छ । यसअघि पोखरा र काठमाडौंमा भएका यस्तै कार्यक्रमले उल्लेख्य संख्यामा विदेशी अनुयायी तथा पर्यटक आकर्षित गरेको शेर्पाले बताए ।

उनका अनुसार सन् २००४ मा पोखरामा आयोजित कार्यक्रममा करिब ३६ हजार अनुयायी तथा पर्यटक सहभागी भएका थिए । सन् २०१६ मा पोखरामा आयोजित अर्को कार्यक्रममा करिब २४ हजार, सन् २०२२ मा काठमाडौंमा ५१ हजार र सन् २०२४ मा बौद्धमा १५ हजार सहभागी आएको उनको भनाइ छ ।

अघिल्ला कार्यक्रमको अनुभवका आधारमा यसपटक पनि ठूलो संख्यामा विदेशी सहभागी आउने अपेक्षा गरिएको उनले बताए । तर, सहभागीको संख्या विगतका कार्यक्रमको अनुभव र धार्मिक सामग्री वितरणका आधारमा गरिएको अनुमान भएकाले वास्तविक उपस्थिति फरक हुन सक्नेछ ।

यसपटक अक्टोबरमा कार्यक्रम गर्ने प्रारम्भिक योजना भए पनि मुख्य पर्यटन सिजनसँग जुध्ने र व्यवस्थापनमा चुनौती हुन सक्ने भएकाले मे २०२७ का लागि सारिएको शेर्पाले बताए ।

विश्व शान्ति पूजामार्फत नेपाललाई शान्ति, आध्यात्मिकता, वातावरण संरक्षण र पर्वतीय पर्यटनको गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने लक्ष्य राखिएको शेर्पाले बताए । धार्मिक कार्यक्रमबाट खुम्बु क्षेत्रमा पर्यटकको आगमन बढाउने, स्थानीय अर्थतन्त्रमा गतिविधि विस्तार गर्ने र हिमाली पर्यटनप्रति विश्वास अभिवृद्धि गर्ने अपेक्षा पनि गरिएको छ ।

प्रकाशित मिति : २०८३, १३ कार्तिक शुक्रबार  ९ : १९ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित