काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने काम भइरहेको आरोप लगाएका छन्। देश गम्भीर मोडमा रहेको उल्लेख गर्दै उनले पार्टीविरुद्ध फैलाइएका भ्रमको प्रतिवाद गर्न प्रवासमा रहेका नेपालीहरू सक्रिय हुनुपर्ने बताएका छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनको लोगो सार्वजनिक गर्दै सचिव भट्टराईले एमालेविरुद्ध भइरहेका प्रचारप्रसारप्रति आपत्ति जनाएका हुन्। उनले पार्टीका विरोधीहरूले विभिन्न माध्यमबाट एमालेबारे भ्रम फैलाइरहेको दाबी गर्दै त्यस्ता प्रचारको तथ्यपूर्ण प्रतिवाद आवश्यक रहेको बताए।
भट्टराईले प्रवासमा रहेका नेपालीहरू संकटका बेला, विकास निर्माणमा तथा श्रमिकका अधिकारका पक्षमा निरन्तर उभिँदै आएको उल्लेख गरे। प्रवासी नेपालीहरूको योगदानलाई संगठित गर्दै उनीहरूका आवाज, अधिकार र सरोकारलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
उनले प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनलाई एमालेबारे फैलाइएको भनिएको भ्रम चिर्ने अवसरका रूपमा प्रस्तुत गर्दै विशेषगरी युवा तथा महिला वर्गमा पार्टीबारे रहेका भ्रम हटाउन अधिवेशन सफल हुने विश्वास व्यक्त गरे।
सचिव भट्टराईले प्रवासी नेपाली मञ्चले संगठन विस्तारसँगै प्रवासी नेपालीका समस्या, श्रमिकका अधिकार र पार्टीको राजनीतिक सन्देशलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सन्देश दिएका छन्।







प्रतिक्रिया