काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र बूढीगण्डकी नदीको बहाव निरन्तर बढिरहेको भन्दै गृहमन्त्री सुधन गुरुङले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्री गुरुङले उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताएका छन्। उद्धार तथा राहतका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन गरिएको उनले जानकारी दिएका छन्।
नदीको जलस्तर बढ्दै गएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा जान उनले अनुरोध गरेका छन्।
गृहमन्त्री गुरुङले विशेषगरी सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेका छन्।
उनले विपद्को यस घडीमा धैर्य कायम राख्दै आफ्नो तथा परिवारको सुरक्षालाई प्राथमिकता दिनसमेत अनुरोध गरेका छन्। आपत्कालीन सहायता आवश्यक परे गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्।







प्रतिक्रिया