काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको छ। तर, स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैसाथ गर्ने विषयमा भने आयोगले अहिल्यै कुनै निष्कर्षमा पुगिनसकेको स्पष्ट पारेको छ।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको मिति सरकारले घोषणा गर्ने भए पनि आयोग आफ्नो संवैधानिक जिम्मेवारीअनुसार तयारीमा जुटिरहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधिमण्डलसँग बिहीबार आयोगमा भएको अनौपचारिक छलफलमा कार्कीले लामो समयसम्म स्थानीय तह रिक्त राख्न नहुनेमा आयोग स्पष्ट रहेको बताए।
स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने गरी सरकार अघि बढेको भन्ने समाचारबारे उनले मितिबारे अहिले नै केही भन्न नसकिने उल्लेख गरे। संवैधानिक व्यवस्थाअनुसार आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने उनको भनाइ थियो। आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने कार्कीले स्पष्ट पारे। निर्वाचनलाई निष्पक्ष र विवादरहित रूपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको उनले बताए।
स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैसाथ गर्ने विषयमा भने आयोगले तत्काल कुनै प्रतिबद्धता जनाएको छैन। नेपालको संवैधानिक संरचना, कानुनी व्यवस्था र आवश्यकतालाई ध्यानमा राखेर निर्वाचनको प्रक्रिया अघि बढाइने कार्कीको भनाइ छ। उनले सरकारले घोषणा गर्ने निर्वाचन मितिअनुसार आयोगले आवश्यक काम अघि बढाउने स्पष्ट पारे।
छलफलमा निर्वाचन आयुक्तद्वय सगुन शमशेर जबरा र ध्रुवराज वाग्लेसहित राससका महाप्रबन्धक सन्दीप राई, प्रधानसम्पादक उत्तम सिल्वाललगायत सहभागी थिए।







प्रतिक्रिया