काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले निरन्तरतामा क्रमभङ्ग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ डो¥याउने काम गरेको भन्दै थापालाई बधाई दिए।
उनले भने, ‘मैले सँधै भन्ने गर्थें निरन्तरतामा क्रमभङ्ग गर्न सक्नुपर्छ । तपाईंले निरन्तरतामा क्रमभङ्ग गरेर कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो । त्यसका लागि विशेष बधाई भन्न चाहन्छु ।’
प्रचण्डले देश अहिले असाधारण, जटिल र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए । प्राकृतिक विपद्का कारण हजारौँको ज्यान गएको, ठूलो मात्रामा सम्पत्ति नष्ट भएको र हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कांग्रेसको महाधिवेशन हुन लागेको बताए ।
उनले गगन थापालाई आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रीका रूपमा काम गर्दादेखि नै देशको नेतृत्व गर्नसक्ने व्यक्तिका रूपमा हेरेको स्मरण गरे । थापाले अहिले देशको नेतृत्व गर्ने आँट गरेको भन्दै आफूहरू उनको साथमा रहेको बताए।
‘तपाईंले अन्ततः एकदिन यो देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ भन्नेको थिएँ, आज आएको देख्छु । निकै ठूलो जिम्मेवारी छ । तपाईं अगाडि बढ्नुस् । हामी तपाईंलाई सम्पूर्ण रूपले साथ दिन तयार छौँ,’ प्रचण्डले भने।
प्रचण्डले कांग्रेसभित्र नयाँ पुस्ता र पुरानो पुस्ताबीच विभाजनको भावना विकास गर्न नहुने बताए । समाज वृद्ध, प्रौढ र युवाहरू मिलेर अघि बढ्ने भएकाले सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले देशमा लोकतन्त्र र संविधानसमेत अप्ठ्यारो अवस्थामा रहेको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई थप सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताए।
‘यस्तो बेलामा संविधानलाई अझ सुदृढ गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्ने काममा सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न जरुरी छ,’ उनले भने।
शान्ति सम्झौताका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले त्यसको जिम्मेवारी कांग्रेस सभापति गगन थापाले लिनुपर्ने बताए। समावेशी लोकतन्त्रका उपलब्धिलाई थप सुदृढ गर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने उनको भनाइ थियो।
प्रचण्डले आगामी दिनमा कांग्रेस, वामपन्थी तथा अन्य राजनीतिक शक्तिहरूबीच समझदारी आवश्यक रहेको बताए। समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनको धारणा थियो।
उनले आफ्नो राजनीतिक यात्रामा पटक–पटक ‘क्रमभङ्ग’ गरेको स्मरण गर्दै अब नयाँ पुस्ताको पालो आएको बताए।
प्रचण्डले कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेपाल निर्माणमा कोसेढुंगा बन्न सक्ने विश्वास व्यक्त गर्दै महाधिवेशनको सफलताको शुभकामना दिए।







प्रतिक्रिया