काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काभ्रेपलाञ्चोक जिल्ला सभापति, पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी तथा काभ्रेका दुवै निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिको समर्थनमा उनले उम्मेदवारी घोषणा गरेका हुन्।
काभ्रे जिल्ला सभापतिका रूपमा संगठन निर्माणमा खेलेको भूमिका, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा गरेको योगदान तथा बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा हासिल गरेको अनुभवलाई उम्मेदवारीको आधार बनाउँदै लामाले आफूलाई केन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर दिन महाधिवेशन प्रतिनिधिसँग अपिल गरेका छन्।
संगठनदेखि संसद्सम्मको अनुभव
२०३० साल असार ९ गते काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ मा जन्मिएका लामा निर्माण व्यवसायसँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
२०६४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय उपसभापतिबाट पार्टी राजनीतिमा नेतृत्वदायी भूमिका सुरु गरेका उनी १२औँ र १३औँ महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापति बने। २०६८ देखि २०७१ सम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्यसमेत रहेका लामा १४औँ महाधिवेशनबाट कांग्रेस काभ्रेको जिल्ला सभापतिमा निर्वाचित भएका थिए।
संसदीय राजनीतिमा पनि उनको लामो अनुभव छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका उनले संविधान निर्माण प्रक्रियामा भूमिका निर्वाह गरेका थिए। त्यसक्रममा कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यका रूपमा काम गरे।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ (ख) बाट निर्वाचित लामा २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका थिए।
काभ्रेको संगठनदेखि विकास एजेन्डासम्म
जिल्ला सभापतिको जिम्मेवारीमा रहँदा पार्टी संगठन सुदृढीकरणसँगै सडक, खानेपानी, विद्युत्, स्वास्थ्य तथा विद्यालय भवन निर्माणजस्ता विकासका विषयमा समेत सक्रिय भूमिका निर्वाह गरेको लामाको दाबी छ।
अब केन्द्रीय सदस्यका रूपमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, काभ्रेसहित प्रदेश र देशका समग्र राजनीतिक तथा विकासका मुद्दालाई पार्टीको राष्ट्रिय बहससँग जोड्ने उनको दाबी छ।
लामाको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा काभ्रेबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि हुने प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।







प्रतिक्रिया