काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी आफ्नो तयारी र कार्यतालिकाबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ।
सभापति गगन थापाले अघि बढाएको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै देउवा समूहले समानान्तर रूपमा महाधिवेशनको तयारी अघि बढाएको हो। समूहले वडा तहदेखि प्रदेशसम्मका अधिवेशनको कार्यतालिकासहित आयोगलाई जानकारी गराएको नेता एनपी साउदले बताएका छन्।
साउदका अनुसार महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि, संयोजक तथा निर्वाचन अधिकृतहरू जिल्ला–जिल्लामा खटिइसकेका छन्। उनका अनुसार असोज १५ गतेदेखि देशभर वडा अधिवेशन सुरु हुनेछ।
देउवा समूहले असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
त्यसैगरी कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तालिका तय गरिएको छ। देउवा समूहले मंसिर २१ गतेदेखि आफ्नो महाधिवेशन गर्ने जनाएको छ।
यता संस्थापन पक्षले भने असोज १८ गते १५औँ महाधिवेशन उद्घाटन गर्ने तयारी अघि बढाएको छ। एउटै पार्टीको महाधिवेशनलाई लिएर दुई पक्षले फरक–फरक प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्रको विवाद थप औपचारिक र संस्थागत बन्दै गएको देखिएको छ।







प्रतिक्रिया