काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजीका क्रममा हालसम्म १ हजार ४५४ जनाको शव फेला परेको छ। अझै ४ हजार ७१८ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६९ जना छन्। रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासीमा २२२, गोरखामा ७९, धादिङमा ७२, तनहुँमा ३८ र नुवाकोटमा २४ जनाको शव फेला परेको छ।
फेला परेका शवको पहिचान र व्यवस्थापनको काम पनि अघि बढाइएको छ। प्रहरीका अनुसार डीएनए नमुना संकलनलगायत प्रक्रिया पूरा गरी अहिलेसम्म १ हजार ३३४ शव व्यवस्थापन भइसकेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजीलाई निरन्तरता दिइएको छ। राहत वितरण र शव व्यवस्थापनमा समेत प्रहरी परिचालन गरिएको छ। हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी प्रभावित क्षेत्रमा खटिएका छन्।
प्रहरीले बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ।







प्रतिक्रिया