काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय संरचनासम्म युवाको सहभागिता उल्लेख्य रूपमा बढेको छ। नयाँ विधानअनुसार देशभर ३५ वर्षमुनिका झन्डै ४४ हजार युवाले पार्टीका विभिन्न पदीय जिम्मेवारी पाएका छन्।
कांग्रेस विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार ४३ हजार ९८६ जना युवा क्षेत्रीय प्रतिनिधि तथा वडा कार्यसमिति सदस्यका रूपमा निर्वाचित भएका छन्। उनका अनुसार नेपाली राजनीतिक दलहरूको इतिहासमै एउटै महाधिवेशनबाट यति ठूलो संख्यामा युवाले औपचारिक पदीय जिम्मेवारी पाएको यो पहिलो घटना हो।
नयाँ विधानले प्रत्येक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना युवालाई क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित गर्ने व्यवस्था गरेको छ। ६ हजार ७४३ वडाबाट न्यूनतम २० हजार २२९ जना युवा निर्वाचित हुने आधार रहे पनि क्रियाशील सदस्यताको संख्याअनुसार तीनदेखि सात जनासम्म प्रतिनिधि चयन हुन सक्ने व्यवस्थाले यो संख्या बढेको हो। औसत पाँच जनाको हिसाब गर्दा ३३ हजार ७१५ युवा क्षेत्रीय प्रतिनिधि बनेका छन्।
त्यस्तै, गाउँपालिकाका वडाबाट एक जना र नगरपालिकाका वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित भएका छन्। गाउँपालिकाका ३ हजार २१५ वडाबाट ३ हजार २१५ तथा नगरपालिकाका ३ हजार ५२८ वडाबाट ७ हजार ५६ गरी १० हजार २७१ युवा वडा सदस्य बनेका छन्।
यसरी क्षेत्रीय प्रतिनिधि र वडा सदस्य गरी ४३ हजार ९८६ युवाले प्रत्यक्ष पदीय जिम्मेवारी पाएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार निर्वाचित पदका लागि कम्तीमा दोब्बर संख्यामा उम्मेदवारबीच प्रतिस्पर्धा भएकाले महाधिवेशन प्रक्रियामा झन्डै एक लाख युवा उम्मेदवार बनेका थिए।
युवा सहभागिता वडा तहमा मात्रै सीमित छैन। क्षेत्रीय प्रतिनिधिबाट गाउँपालिका तथा नगरपालिका कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा समेत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। त्यस्तै, देशभरका निर्वाचन क्षेत्रबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र १६५ जना महासमिति सदस्य चयन हुने प्रक्रिया अघि बढेको छ।
नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहनेछन्। सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य हुने व्यवस्था पनि गरिएको छ। केन्द्रीय कार्यसमितिमा समेत पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवती गरी १४ जना युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले ठूलो संख्यामा युवाले उम्मेदवारी दिनु र पदीय जिम्मेवारीमा पुग्नुले कांग्रेसको संगठनात्मक संरचनामा युवाको उपस्थिति तीव्र रूपमा बढेको दाबी गरेका छन्। उनका अनुसार पछिल्लो महाधिवेशन प्रक्रियाले कांग्रेसको संगठनलाई थप युवामैत्री संरचनातर्फ अघि बढाएको छ।







प्रतिक्रिया