काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज स्वदेश फर्किंदै छन्।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्दै नेपालको जलवायु संकट, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमुखताका साथ उठाएका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। जलवायु संकट सिर्जना गर्न नेपालको योगदान नगण्य भए पनि त्यसको असर भने नेपालजस्ता मुलुकले ठूलो रूपमा भोगिरहेको उनको भनाइ थियो। उनले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, बाढी, पहिरो तथा अन्य विपद्को जोखिम नेपालसँगै चीन र भारतलगायत हिमाली क्षेत्रसम्म फैलिएको बताएका थिए।
प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राख्दै वितरणात्मक तथा प्रक्रियागत न्यायको विषयलाई पनि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने बताएका थिए। हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित मुलुक र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्व दिनुपर्ने उनको जोड थियो।
अमेरिका बसाइका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका व्यक्तिहरूसँग भेटवार्तासमेत गरेका थिए। भेटवार्तामा नेपालको प्राथमिकता, जलवायु संकट, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो।
महासभामा नेपालको तर्फबाट जलवायु न्याय र हिमाली क्षेत्रको संकटलाई प्राथमिकताका साथ उठाएर प्रधानमन्त्री शाह आज नेपाल फर्किन लागेका हुन्।







प्रतिक्रिया