काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र बनाउँदै ५५ जिल्लामा जिल्ला संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५औँ महाधिवेशन तयारी समितिले जिल्लागत रूपमा संयोजक तोकेको हो।
समितिका संयोजक डा. कोइरालाको हस्ताक्षरमा जिल्ला संयोजकहरूलाई जिम्मेवारीसम्बन्धी पत्र दिइएको नेता एनपी साउदले जानकारी दिएका छन्। देउवा समूहले असोज १५ गते वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
मधेस प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा संयोजक तोकिएका छन्। संयोजकहरूले सम्बन्धित जिल्लामा महाधिवेशन तयारीसँगै संगठनात्मक गतिविधि अघि बढाउनेछन्।
प्रदेशअनुसार संयोजक
कोशी प्रदेश: पाँचथर–डेकेन्द्रकुमार तामाङ, झापा–कृष्ण हुमागाईं, संखुवासभा–रामकुमार जीसी, भोजपुर–धर्मराज राई, मोरङ–सुभाष पौडेल, खोटाङ–रोजन राई, ओखलढुंगा–बालगोविन्द राजभण्डारी र उदयपुर–बसन्त बस्नेत। मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङ सहसंयोजक छन्।
बागमती प्रदेश: दोलखा–ताराबहादुर खड्का, रामेछाप–जीतबहादुर मगर, रसुवा–उपेन्द्र लम्साल, धादिङ–गोपाल बिक, नुवाकोट–श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोक–लालकाजी तामाङ, चितवन–मिलन श्रेष्ठ, मकवानपुर–भीम लामा, भक्तपुर–दुर्लभ थापा, ललितपुर–सुदर्शन घिमिरे र काठमाडौं–जयकृष्ण महर्जन। दोलखामा जयराम श्रेष्ठ सहसंयोजक छन्।
गण्डकी प्रदेश: गोरखा–भुगोल थापा, लमजुङ–रामकृष्ण कँडेल, कास्की–ऋषिराम काफ्ले, मनाङ–नाचोङ गुरुङ, पर्वत–रामकृष्ण मल्ल, म्याग्दी–हिराबहादुर पुन मगर, बागलुङ–सागर छन्त्याल र नवलपुर–अशोक बस्ताकोटी।
लुम्बिनी प्रदेश: नवलपरासी पश्चिम–विकास घिमिरे, रुपन्देही–गुनाखर भुर्तेल, कपिलवस्तु–अब्दुल मन्नान खाँ, पाल्पा–माधव नेपाल, अर्घाखाँची–लक्ष्मण पाण्डे, गुल्मी–बेदबहादुर थापा, रुकुम पूर्व–दत्तबहादुर बस्नेत, रोल्पा–मानबहादुर खत्री, प्युठान–ईश्वरसिंह विष्ट, दाङ–गोपालराज शर्मा, बाँके–कृष्ण कार्की र बर्दिया–जग्गाप्रसाद पाण्डे।
कर्णाली प्रदेश: डोल्पा–देउप्रसाद बुढा, जुम्ला–हेम बुडथापा, मुगु–कर्ण रावल, हुम्ला–सूर्यबहादुर शाही, कालिकोट–मातृका सिंह, जाजरकोट–राजजंग शाह, दैलेख–मीनबहादुर विश्वकर्मा ‘मिलन’ र सुर्खेत–ललित भट्टराई।
सुदूरपश्चिम प्रदेश: बाजुरा–धनराज पण्डित, बझाङ–हर्कजंगबहादुर सिंह, डोटी–नरेन्द्रबहादुर सिंह, दार्चुला–सुरेन्द्र अवस्थी, बैतडी–वीरबहादुर विष्ट, डडेलधुरा–डिल्लीराज जोशी, कञ्चनपुर–पदम बोगटी र कैलाली–खेमबहादुर डगौरा थारू। कैलालीमा रामसमझ राना सहसंयोजक छन्।
कांग्रेसभित्र महाधिवेशनको प्रक्रियालाई लिएर दुई छुट्टाछुट्टै कार्यतालिका अघि बढेका छन्। गगन थापा नेतृत्वको पक्षले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाएको छ भने देउवा समूहले त्यसको समानान्तर रूपमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका बनाएको छ।







प्रतिक्रिया