२०८३, ८ आश्विन शुक्रबार

हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले उठाए आपत्कालीन स्वास्थ्य सेवाको प्रश्न

हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले उठाए आपत्कालीन स्वास्थ्य सेवाको प्रश्न


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महताले आफ्नै परिवारका सदस्यले भोगेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आपत्कालीन स्वास्थ्य उद्धार प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनका अनुसार उनकी भाइबुहारीलाई भदौ ६ गते सुत्केरी व्यथा लागेपछि कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार भदौ ७ गते शल्यक्रिया गरी छोरी जन्मिएपछि परिवारमा खुसीको वातावरण बने पनि शल्यक्रियापछि आमाको मुटुको चाल रोकिएसँगै स्वास्थ्य अवस्था गम्भीर बनेको उनले बताए ।

स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकले भेन्टिलेटरसहित हेलिकप्टरमार्फत सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको महताले बताए । त्यसपछि आफूले स्वास्थ्य, महिला, बालबालिका तथा गृह मन्त्रालयमा सम्पर्क गर्ने प्रयास गरे पनि तत्काल सम्पर्क हुन नसकेको उनले सदनलाई जानकारी गराए । महताका अनुसार त्यसपछि उनी प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा पुगेका थिए । सभामुखले तत्काल स्वास्थ्य मन्त्रीलाई फोन गरी बिरामीको उद्धारको व्यवस्था गर्न निर्देशन दिएको भन्दै उनले सभामुख र संसद् सचिवालयप्रति धन्यवाद व्यक्त गरे ।

तर, विभिन्न सरकारी निकायसँग समन्वय गर्दा कानुनी जटिलताका कारण सरकारी हेलिकप्टरबाट उद्धार गर्न नसकिने जवाफ पाएको उनले बताए ।

‘त्यो क्षण मेरा लागि एउटै प्रश्न थियो, कानुन ठूलो कि एउटा नागरिकको जीवन?’ महताले प्रश्न गर्दै भने ।  आफूले कुनै विशेष सुविधा नमागेको भन्दै उनले जीवन बचाउन सकिने सम्भावना भएको गम्भीर बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्याउने अधिकारका लागि पहल गरेको बताए । सरकारी माध्यमबाट उद्धारमा कठिनाइ भएपछि निजी क्षेत्रको हेलिकप्टरमार्फत उद्धारको विकल्प खोजिएको उनले बताए । 

आफू संघीय सांसद भएर राज्यका विभिन्न निकायमा प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि गम्भीर बिरामीको समयमै हवाई उद्धार गराउन धेरै तह र प्रक्रिया पार गर्नुपरेको उल्लेख गर्दै उनले सामान्य नागरिकको अवस्थाबारे प्रश्न उठाए ।

‘म एकजना संघीय सांसद भएर राज्यका विभिन्न निकायसमक्ष प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि एउटा गम्भीर बिरामीलाई समयमै हेलिकप्टरबाट उद्धार गराउन यति धेरै तह–प्रक्रिया पार गर्नुपर्ने अवस्था आयो भने सामान्य नागरिकले यस्तो परिस्थितिमा के गर्ने?’ उनले भने । महताले आपत्कालीन अवस्थामा तत्काल निर्णय गर्न सकिने गरी स्पष्ट र पारदर्शी उद्धार प्रणाली निर्माण गर्न सरकारसँग माग गरे । 

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ११ : ५२ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई