धुलिखेल । मुद्दाको चाप बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुधबारदेखि चौथो इजलास सञ्चालनमा आएको छ। नयाँ इजलास थपिएसँगै अदालतमा इजलासको संख्या चार पुगेको हो।
पर्याप्त पूर्वाधार नभए पनि तत्काल पूर्वाधार निर्माण गर्ने प्रतिबद्धतापछि सर्वोच्च अदालतले थप एउटा इजलास सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रतिबद्धताअनुसार आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएपछि चौथो इजलास सञ्चालनमा ल्याइएको अदालतका श्रेस्तेदार उपसचिव सञ्जित गौतमले जानकारी दिए। ‘काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट बुधबारदेखि चारवटा इजलास सुचारु भएका छन्,’ श्रेस्तेदार गौतमले भने।
उनका अनुसार अदालतमा हरेक वर्ष ३ हजार ७ सयभन्दा बढी मुद्दा हेर्नुपर्ने अवस्था छ। बढ्दो मुद्दाको चाप घटाउने, समयमै न्यायको अनुभूति दिलाउने तथा जिल्लाको भौगोलिक विकटताका कारण न्यायाधीशको संख्या अपुग भएको अवस्थालाई सम्बोधन गर्न थप इजलास आवश्यक परेको हो।
जिल्ला अदालत काभ्रेपलाञ्चोकको प्रस्तावका आधारमा सर्वोच्च अदालत प्रशासनले थप इजलास व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
नयाँ इजलासका लागि काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश दीपक घिमिरेलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा सरुवा गरिएको छ। चौथो इजलासको जिम्मेवारी न्यायाधीश घिमिरेले सम्हाल्नेछन्। चौथो इजलास सञ्चालनमा आएसँगै मुद्दा फर्छ्योटमा तीव्रता आउने र सेवाग्राहीले समयमै न्याय पाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया