काठमाडौं । नेकपा एमालेकी नेता सन्तना दाहालले पार्टी पुनर्गठनको बहसलाई व्यक्तिकेन्द्रित बनाउन खोजिएको भन्दै प्रश्न उठाएकी छन्।
केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै दाहालले पार्टी पुनर्गठनको अर्थ केही महिनाअघि विधिसम्मत रूपमा महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई केन्द्रमा राखेर नेतृत्व परिवर्तनको बहस चलाउन नहुने बताइन्। उनका अनुसार संगठनबाट विचलित भएर बाहिर रहेका नेता–कार्यकर्तालाई पुनःसंगठित गर्दै पार्टीमा फर्काउने, संगठनलाई व्यवस्थित बनाउने र जनतासँगको सम्बन्ध पुनःस्थापित गर्ने काम नै पुनर्गठनको मूल उद्देश्य हुनुपर्छ।
‘पार्टी पुनर्गठन भनेको संगठनबाट विचलित भएर बाहिर रहेका व्यक्तिलाई पुनःसंगठित गरेर लैजानु हो। विधिसम्मत निर्वाचित भएर केही महिना अगाडि महाधिवेशनबाट आउनुभएका श्रद्धेय अध्यक्ष ओलीलाई मात्र केन्द्रित गरेर पुनर्गठन गर्ने विषय पुनर्गठनको परिभाषाभित्र पर्न सक्दैन,’ दाहालले भनिन्। उनले निर्वाचनमा एमालेले व्यहोरेको पराजयको जिम्मेवारी अध्यक्षमाथि मात्रै थोपर्न नहुने बताइन्। निर्वाचन परिणाम पार्टीको सामूहिक जिम्मेवारी भएकाले नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आफ्नो भूमिका र कमजोरीको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
‘निर्वाचनमा एमाले पराजयको जिम्मेवारी अध्यक्षले मात्रै होइन, हामी सबैले लिनुपर्छ,’ दाहालले स्पष्ट पारिन्। दाहालले पुनर्गठनलाई नेतृत्व परिवर्तनको पर्याय बनाउनेभन्दा पार्टीभित्रका कमजोरी सच्याउने, संगठनबाट टाढिएका नेता–कार्यकर्तालाई फर्काउने, जनतासँगको सम्बन्ध जोड्ने र संगठनलाई आगामी निर्वाचनका लागि तयार पार्ने अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन्।







प्रतिक्रिया