काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पारित गर्दै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार केन्द्रीय कमिटी बैठकमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायत विषय प्रस्तुत गरिनेछ।
भट्टले कार्यदलले प्रतिवेदन बुझाएसँगै आफ्नो काम पूरा गरेको बताए। उनका अनुसार प्रतिवेदनमा समेटिएका सुझावहरू अनुसूचीका रूपमा केन्द्रीय कमिटीमा पेस गरिनेछ। २९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको भन्दै उनले अब त्यसमा थप बहस आवश्यक नरहेको बताए। विशेष महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा अध्यक्षको विमति रहेको भन्ने प्रश्नमा भट्टले ती विषयमा यसअघि नै सहमति भइसकेको र अहिले कुनै विवाद नरहेको दाबी गरे।
यद्यपि, केन्द्रीय कमिटीमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको विषयमा भने उनले बैठकमा हुने छलफल र निर्णयका आधारमा आगामी रणनीति तय हुने बताए।






प्रतिक्रिया