काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक ३ बजेका लागि सरेको छ। कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिन नसकेपछि सचिवालय बैठकको समय सारिएको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यदलको बैठक सम्पन्न भएपछि मात्रै सचिवालय बैठक बस्ने भएकाले समय परिवर्तन गरिएको हो। कार्यदलको बैठक बिहान ९ बजेदेखि पार्टी मुख्यालय च्यासलमा जारी छ।
कार्यदलमा पार्टी पुनर्गठन र निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदनमा सहमति जुटाउने प्रयास भइरहेको छ। यसअघि संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन आएका थिए। ती प्रतिवेदनलाई एकीकृत गरी एउटै निष्कर्षमा पुग्ने प्रयास भए पनि सहमति बन्न सकेको थिएन।
यसबीच अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा प्रदीप ज्ञवालीले छुट्टै २९ पृष्ठको प्रतिवेदन तयार पारेका छन्। उक्त प्रतिवेदनमा नेतृत्व परिवर्तनको प्रस्ताव अस्वीकार गर्दै पार्टी पुनर्गठन र सुधारका विषय अघि सारिएको विवरण सार्वजनिक भएको छ।
अब कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि त्यसलाई सचिवालयमा पेस गर्ने तयारी छ। त्यसपछि बस्ने सचिवालय बैठकले कार्यदलको प्रतिवेदनसँगै आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे समेत छलफल गर्नेछ। एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ।







प्रतिक्रिया