काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै प्रतिभावान खेलाडीको पहिचान र विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालयको आयोजनामा सम्पन्न नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना दिँदै मुख्यमन्त्री थापाले खेलकुदले अनुशासन, स्वस्थ शरीर र सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले स्थानीयस्तरमा हुने प्रतियोगिताले बालबालिका तथा युवामा खेलप्रति रुचि बढाउनुका साथै प्रतिभावान खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने आधार तयार गर्ने बताउनुभयो।
“खेलाडी राष्ट्रका गौरव र गहना हुन्। स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याउँछन्,” मुख्यमन्त्री थापाले भन्नुभयो।
मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकार खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रतिबद्ध रहेको बताउँदै स्थानीय तह, प्रदेश सरकार, खेल संघ–संस्था, प्रशिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
हेटौंडा–४ वडा कार्यालयले स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा विभिन्न तौल समूहमा महिला तथा पुरुष खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।
मुख्यमन्त्री थापाले सहभागी खेलाडीलाई खेलभावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै प्रतियोगिता आयोजना गरी खेलकुद प्रवर्द्धनमा योगदान पुर्याएकोमा वडा कार्यालय, प्रशिक्षक, आयोजक टोली तथा सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो।
आयोजकका अनुसार प्रतियोगिताबाट पहिचान भएका प्रतिभावान खेलाडीलाई जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि तयार गर्ने उद्देश्य राखिएको छ।







प्रतिक्रिया