२०८३, ३१ भाद्र बिहीबार

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया


काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ २’ ले प्रिमियरपछि दर्शक तथा चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ। बुधबार आयोजित प्रिमियरमा सहभागीहरूले चलचित्रले मनोरञ्जनसँगै पारिवारिक सम्बन्धका विभिन्न पक्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका हुन्।

चलचित्रले विशेषगरी नेपाली परिवारमा देखिने सम्बन्ध, आमा–बुबाको भूमिका, दाजुभाइबीचको सम्बन्ध तथा देउरानी–जेठानीबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ। सुरुवातमा हास्य र मनोरञ्जनलाई प्राथमिकता दिइएको चलचित्र अन्त्यतिर भने भावनात्मक बन्दै जाने प्रतिक्रिया प्रिमियरमा सहभागीहरूले दिएका छन्।

निर्देशक देउजाले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताए। आफ्नो कामको वास्तविक मूल्याङ्कन दर्शकले नै गर्ने भएकाले अहिलेको प्रतिक्रियालाई सकारात्मक संकेतका रूपमा लिएको उनको भनाइ छ।

उनले चलचित्र निर्माणमा कलाकारदेखि प्राविधिक टोलीसम्म सबैको महत्वपूर्ण योगदान रहेको बताए। आफ्नै टिमसँग लामो समयदेखि काम गर्दै आएकाले चलचित्रलाई पर्दामा उतार्न सहज भएको उनले उल्लेख गरे।

‘झिंगे दाउ २’ मा आँचल शर्मा र केकी अधिकारीले पारिवारिक परिवेशमा देखिने महिला पात्रको भूमिका निर्वाह गरेका छन्। आँचलले आफ्नो पात्र निर्माण गर्दा नेपाली समाजमा देखेका विभिन्न पात्र तथा घटनाबाट प्रेरणा लिएको बताइन्।

केकी अधिकारीले चलचित्रमा देखाइएको पारिवारिक परिवेश पुरानो समयसँग जोडिए पनि त्यसमा प्रस्तुत गरिएका भावनाहरू अहिले पनि सान्दर्भिक रहेको बताइन्। विशेषगरी परिवारभित्र आफ्नो स्थान र सम्बन्धलाई लिएर हुने भावनात्मक द्वन्द्व अहिले पनि देखिने उनको भनाइ छ।

आमाको भूमिका निर्वाह गरेकी हिउँवाला गौतमका लागि चलचित्र व्यक्तिगत रूपमा पनि भावनात्मक बनेको छ। चलचित्रका केही दृश्यले आफ्नी दिवंगत आमाको सम्झना दिलाएको उनले बताइन्। उनका अनुसार चलचित्रले अभिभावकलाई सम्मान गर्नुपर्ने र परिवारभित्र आपसी समझदारी कायम राख्नुपर्ने सन्देश दिन्छ।

कलाकार किरण केसीले चलचित्रले संवेदनशील पारिवारिक विषयलाई मनोरञ्जनको माध्यमबाट प्रस्तुत गरेको बताए। उनका अनुसार चलचित्रको सुरुवाती भाग हास्यप्रधान छ भने पछिल्लो भागमा आमाको पीडा र छोराहरूको भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।

जयकिशन बस्नेतले चलचित्रलाई हाँसो र भावनाको मिश्रणका रूपमा व्याख्या गरे। उनका अनुसार चलचित्र हेर्दा दर्शकले सुरुदेखि मनोरञ्जन लिन सक्नेछन् भने अन्त्यतिर भावुक हुने अवस्था आउँछ। उनले आँचल र केकीबीचका झगडाका दृश्य तथा अन्य कलाकारको अभिनयको पनि प्रशंसा गरे।

प्रिमियरमा सहभागी दर्शक अञ्जली शाक्यले कमेडी र भावनात्मक पक्षको संयोजन आफूलाई मन परेको बताइन्। विशेषगरी दाजुभाइबीचको विवादपछि हुने मिलनले आफूलाई प्रभावित गरेको उनको प्रतिक्रिया थियो।

उनका अनुसार नयाँ पुस्ता स्वतन्त्र जीवनशैलीतर्फ आकर्षित हुने र पुरानो पुस्ता परम्परा तथा परिवारलाई निरन्तरता दिन चाहने अवस्थाबीच समझदारी आवश्यक हुन्छ। चलचित्रले यही पारिवारिक सन्तुलनको विषयलाई मनोरञ्जनमार्फत प्रस्तुत गरेको उनको भनाइ छ।

निर्देशक देउजाले भने प्रिमियरको प्रतिक्रियालाई अन्तिम निष्कर्ष मान्न नहुने बताएका छन्। दर्शकको वास्तविक प्रतिक्रिया र चलचित्रको व्यावसायिक परिणाम प्रदर्शनपछि मात्र स्पष्ट हुने उनको भनाइ छ। ‘झिंगे दाउ २’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  १२ : ३० बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर