ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाएको छ। एमाले केन्द्रीय सदस्य एवं कोन्ज्योसोम गाउँपालिकाका इञ्चार्ज सन्तना दाहाल न्यौपानेले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, चौघरेमा सम्पन्न नेकपा (एमाले) को वडा अधिवेशनलाई सम्बोधन गर्दै दाहाल न्यौपानेले जनताको सुख–दुःखमा एमाले सधैँ जनताको घरदैलोमा रहने बताउनुभयो। उहाँले वर्तमान सरकारले जनताका समस्या समाधान गर्न नसकेको दाबी गर्दै जनताको भाग्य र भविष्य निर्माण गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताउनुभयो। जनताले परिवर्तन, विकास र समृद्धिको अपेक्षा गरे पनि सरकार त्यसअनुसार अघि बढ्न नसकेको उहाँको आरोप थियो। दाहाल न्यौपानेले जनताबाट टाढिएको राजनीति लामो समय टिक्न नसक्ने बताउँदै एमाले जनताका वास्तविक समस्या, आवश्यकता र अपेक्षासँग जोडिएर अघि बढ्ने दाबी गर्नुभयो। उहाँले आगामी दिनमा पार्टी संगठनलाई वडा तहदेखि नै थप मजबुत बनाउँदै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउनुभयो।
अधिवेशनले तेजबहादुर लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ। कमिटीको उपाध्यक्षमा ज्ञानबहादुर भुलुन, सचिवमा दिपेन्द्र थिङ र उपसचिवमा सीता स्याङतान चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा साजन थिङ, वीरबहादुर थिङ, कृष्णबहादुर घ्यावा, शान्तप्रसाद हुमागाईँ, कृष्णकुमारी सुनार, सुरेश थोकर, वीरबहादुर स्याङतान, रामबहादुर लामा र कोपिलन भुलुन चयन हुनुभएको छ।
नवनिर्वाचित वडा कमिटीले संगठनलाई थप चलायमान र प्रभावकारी बनाउँदै जनताका समस्या तथा स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर पार्टी गतिविधि अघि बढाउने प्रतिबद्धता जनाएको छ।
चौघरेको वडा अधिवेशनले संगठन विस्तारसँगै जनताका मुद्दामा सरकारविरुद्ध राजनीतिक दबाब बढाउने एमालेको रणनीतिलाई वडा तहसम्मै थप सक्रिय बनाउने संकेत दिएको छ।







प्रतिक्रिया