काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कल्पनाभन्दा बाहिरको मानवीय क्षति निम्त्याएको छ। पछिल्लो प्रहरी विवरणअनुसार बाढीमा परी १ हजार ३४४ जनाको मृत्यु भएको छ भने ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्।
नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्मको खोज तथा उद्धार विवरण सार्वजनिक गर्दै उक्त तथ्यांक दिएको हो। फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेका छन्। थप ५०१ वटा आंशिक मानव अंग समेत फेला परेको प्रहरीको विवरणमा उल्लेख छ।बाढीको विनाशपछि प्रभावित क्षेत्रमा खोजी र उद्धार अभियान अझै रोकिएको छैन। सुरक्षाकर्मीले हालसम्म ८ हजार ६३१ जना बाढी प्रभावितको उद्धार गरिसकेका छन्।
विपद्को चपेटामा सुरक्षाकर्मीसमेत परेका छन्। प्रहरीका अनुसार २५ जना प्रहरी सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन्।उद्धार तथा राहतलाई तीव्र बनाउन ७ हजार ९१२ जना जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ। ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले सम्भावित स्थानमा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
बाढीबाट भएको क्षतिको वास्तविक विवरण अझै संकलनकै क्रममा छ। शव तथा मानव अंगको पहिचान र सम्पर्कविहीन व्यक्तिको खोजी अघि बढ्दै जाँदा मृतक तथा बेपत्ताको संख्या थप परिवर्तन हुन सक्ने देखिएको छ।







प्रतिक्रिया