काठमाडौं । भोटेकोशी बाढीपहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भइरहेको छ।
सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा जारी सर्वदलीय बैठकमा विभिन्न दलका दोस्रो तहका नेताहरू सहभागी छन्।
बैठकमा विपद्बाट भएको क्षतिको व्यवस्थापनसँगै बेपत्ताको खोजी तथा उद्धार, राहत वितरण र प्रभावितको पुनःस्थापनाका विषयमा छलफल भइरहेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन योजनासँग जोड्ने, जलवायु परिवर्तनका कारण बढ्दो जोखिमलाई सम्बोधन गर्ने तथा राष्ट्रिय विपद् नीतिमा आवश्यक सुधार गर्ने विषय पनि छलफलमा छन्।
सरकारका विपद् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी कामलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति वा उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ।
यसअघि भदौ १० गते भोटेकोशीमा बाढी आएलगत्तै बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका लागि १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।
साझा सङ्कल्पको १०औँ बुँदामा विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र प्रतिक्रियामा मात्र सीमित नगरी दीर्घकालीन तथा दिगो समाधान खोज्नुपर्नेमा जोड दिइएको थियो।
सोही प्रतिबद्धतालाई कार्यान्वयन गर्ने उद्देश्यले अहिले उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनको प्रक्रिया अघि बढाइएको हो।







प्रतिक्रिया