काठमाडौं । नेकपा एमालेले भोटेकोशीसहित बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहतका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ।
सोमबार एमाले राजधानी प्रदेश कमिटी र बागमती प्रदेश कमिटीबाट प्राप्त राहत रकम बुझ्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कोषबाट समेत रकम थपेर बाढीपीडितका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ खर्च गर्ने बताएका हुन्। राजधानी र बागमती प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ गरी २० लाख रुपैयाँ राहत उपलब्ध गराएका छन्। बाँकी रकम पार्टीको केन्द्रीय कोषबाट व्यवस्थापन गरिने ओलीले बताए। तर, ओलीले राहत रकम सरकारी कोषमा जम्मा गर्ने कि पार्टीले प्रत्यक्ष रूपमा पीडितसम्म पुर्याउने भन्ने विषयमा भने गम्भीर प्रश्न उठाएका छन्।
“साँच्चै पीडितकहाँ पुर्याउने कि सरकारको कोषमा देखाउने?” ओलीले प्रश्न गर्दै राहतको उद्देश्य रकम कोषमा जम्मा भएको देखाउनु नभई वास्तविक पीडितसम्म छिटो पुर्याउनु रहेको बताए। उनले बाढीपीडित तत्काल पानी, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभावमा रहेको उल्लेख गर्दै राहत वितरणमा ढिलाइ गर्न नहुनेमा जोड दिए।
सरकारी कोषमा रकम जम्मा नगर्दा एमालेले सहयोग गरेन भन्ने प्रचार हुनसक्ने र कोषमा रकम पठाउँदा पनि वास्तविक पीडितसम्म राहत पुग्न ढिलाइ हुनसक्ने अवस्थातर्फ ओलीले संकेत गरे। “पीडितकहाँ कुन माध्यमबाट छिटोछरितो ढंगले यथार्थ पीडितकहाँ राहत पुग्छ, हामी त्यही बाटो पुर्याउँछौं,” उनले भने। विपद्को समयमा राजनीतिक प्रचारभन्दा पीडितको आवश्यकता प्राथमिकतामा राख्नुपर्ने सन्देश दिँदै ओलीले राहत वितरणमा प्रभावकारी माध्यम अपनाउने बताए।
एमालेले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि आफ्नोतर्फबाट सहयोग जारी राख्ने बताउँदै ओलीले अन्य राजनीतिक दल, संघसंस्था तथा नागरिकलाई पनि विपद्को घडीमा दिल खोलेर सहयोग गर्न आग्रह गरे। विपद् व्यवस्थापनमा एमाले सरकारसँग समन्वय गरेर अघि बढ्न तयार रहेकोसमेत ओलीले स्पष्ट पारे।







प्रतिक्रिया