२०८३, १४ भाद्र सोमबार

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार तथा व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप गम्भीर भएर तत्काल काम गर्न आग्रह गरेका छन्।

कांग्रेस संसदीय दलको बैठकमा विपद्को अवस्थाबारे छलफल भएको जानकारी दिँदै राईले सामाजिक सञ्जालमा सरकार अत्यन्त सक्रिय देखिए पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था त्यसको ठीक विपरीत रहेको बताएका हुन्।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रभावित क्षेत्रमा पुगेर फर्किएको उल्लेख गर्दै राईले स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी तथा विपद् प्रभावित परिवारसँगको प्रत्यक्ष सम्पर्कबाट राहतको वास्तविक आवश्यकता र वितरणको अवस्थाबारे जानकारी प्राप्त भएको बताए।

उनका अनुसार आवश्यकतामा रहेका नागरिकले राहत पाउन नसकेको अवस्था छ भने कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेका छन्। राहत सामग्रीको ढुवानी, डिस्प्याच र वितरण गर्ने संयन्त्र प्रभावकारी हुन नसकेको उनले बताए।

सरकारले अवलम्बन गरेको ‘एकद्वार प्रणाली’मा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको गुनासो आएको पनि राईले बताए। स्थानीय तहसँग प्रभावित नागरिकको तथ्याङ्क र वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकारी हुने भएकाले राहत वितरणमा स्थानीय सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।

हालै सत्तासीन पार्टीका सभापतिले सम्पर्क र सहकार्यका लागि पहल गरेको विषयलाई सकारात्मक रूपमा लिँदै राईले त्यसलाई औपचारिकतामा सीमित नगरी प्रभावकारी समन्वयमा परिणत गर्नुपर्ने बताए।

राईले विपद् व्यवस्थापनका लागि सरकारसँग तत्काल स्पष्ट र अद्यावधिक तथ्याङ्क हुनुपर्नेमा जोड दिए। विपद्अघि रहेको जनसङ्ख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा पुगेका व्यक्ति, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको यकिन विवरण तत्काल संकलन गर्नुपर्ने उनको भनाइ छ।

यस्ता तथ्याङ्क स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक प्रतिनिधिसँग रहेको भन्दै उनले सबै पक्षलाई एकीकृत रूपमा परिचालन गरी खोज तथा उद्धारको काम अघि बढाउनुपर्ने बताए। विपद् व्यवस्थापनको काम गम्भीर र जटिल रहेको तथा आवश्यक उपकरणको समेत अभाव देखिएको उनले उल्लेख गरे।

सरकारले कांग्रेसलाई छलफलका लागि ढिला बोलाएको गुनासो गर्दै राईले विपद्को समयमा संघीय संसद् पनि तत्काल सञ्चालन गर्नुपर्ने बताए। नागरिकमा सरकारप्रतिको विश्वास कायम गर्न तथा राज्यको उपस्थितिको अनुभूति दिलाउन संसद्मार्फत जवाफदेहिता आवश्यक रहेको उनको भनाइ छ।

राहत वितरण, उद्धार, खोजी तथा पुनःस्थापनाको काम निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि राईले गरेका छन्।

उनले संसद् तत्काल सुचारु गरी विपद्बाट उत्पन्न समस्या, राहत तथा उद्धारको अवस्था र पुनःस्थापनाका विषयमा गम्भीर छलफलमार्फत समाधानको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  २ : ४३ बजे

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद् प्रभावित क्षेत्रमा

कांग्रेस संसदीय दलको निर्णय : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौती

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

रसुवा । रसुवामा पाँच दिनअघि आएको विनाशकारी बाढीको त्रासदी सीमापारि

बाढीपीडितका लागि कांग्रेस काभ्रेको दरिलो साथ, १७ लाख ६२ हजार सहयोग हस्तान्तरण

काभ्रे । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा