२०८३, १३ भाद्र आईतबार

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता


विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित ठाउँ चाहिन्छ । त्यसैले हाम्रो राहत प्रणाली प्रायः चामल, दाल, नुन, तेल, पानी र त्रिपालमा केन्द्रित हुने गरेको छ। यी सामग्री निस्सन्देह अत्यावश्यक हुन् । तर राहतको अर्थ यतिमै सीमित छैन । विपद्को समयमा सबै मानिस एउटै प्रकारको आवश्यकता लिएर बाँचिरहेका हुँदैनन् । विशेषगरी महिला, बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको आवश्यकता फरक र बढी संवेदनशील हुन्छ ।
महिलाका लागि राहत भनेको पेट भर्ने सामग्री मात्र होइन। महिनावारी व्यवस्थापनका लागि प्याड वा आवश्यक सामग्री, सफा भित्री वस्त्र, साबुन, सुरक्षित पानी, गोपनीयता र सुरक्षित शौचालय पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । अस्थायी शिविरमा पर्याप्त प्रकाश छैन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय छैन वा शौचालय सुरक्षित स्थानमा छैन भने महिलाले थप असुरक्षा र असहजता भोग्नुपर्ने अवस्था आउँछ ।
गर्भवती र सुत्केरी महिलाका लागि स्वास्थ्य परीक्षण, पोषण, आवश्यक औषधि तथा सुरक्षित स्वास्थ्य सेवाको पहुँच तत्काल आवश्यक हुन्छ । साना बालबालिका भएका आमाका लागि शिशुको पोषण र सुरक्षित रूपमा स्तनपान गराउन सकिने स्थानको व्यवस्था पनि राहत व्यवस्थापनको हिस्सा हुनुपछ । त्यसैले राहतको परिभाषा अब ‘चामल, दाल र त्रिपाल’ बाट विस्तार गरेर मानव मर्यादा, सुरक्षा र स्वास्थ्यको संरक्षण सम्म पुर्‍याउन आवश्यक छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले पनि यही प्रश्नलाई गम्भीर रूपमा उठाएको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, रेडक्रस तथा स्थानीय नागरिकले जोखिम मोलेर गरेको खोज, उद्धार र राहत कार्य प्रशंसनीय छ । संकटको समयमा जसले जहाँबाट जे सकिन्छ सहयोग गर्नु मानवीय धर्म हो । तर यस्ता प्रशंसनीय प्रयाससँगै हामीले आगामी दिनका लागि सिक्नुपर्ने पाठ पनि छन् ।
त्यसमध्ये एउटा महत्वपूर्ण विषय हो, महिला संवेदनशील विपद् व्यवस्थापन । विपद्का बेला घाइते महिला, गर्भवती वा व्यक्तिगत स्वास्थ्यसम्बन्धी समस्या भएका महिलाले आफ्ना समस्या पुरुष उद्धारकर्मी वा राहतकर्मीसँग सहज रूपमा भन्न नसक्ने अवस्था हुन सक्छ । गोपनीयता आवश्यक पर्ने विषयमा महिला उद्धारकर्मीको उपस्थिति अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले महिला उद्धारकर्मीको संख्या बढाउनु अब केवल प्रतिनिधित्वको विषय होइन, प्रभावकारी र मानवीय उद्धार व्यवस्थापनको आवश्यकता हो ।
अन्तर्राष्ट्रिय अनुभवले पनि यही कुरा सिकाएको छ। विश्वका विभिन्न देशमा आएका भूकम्प, बाढी, आँधी तथा अन्य मानवीय संकटपछि राहत वितरणमा महिला र बालबालिकाको विशेष आवश्यकतालाई प्राथमिकता दिने अभ्यास विस्तार हुँदै गएको छ । धेरै अन्तर्राष्ट्रिय मानवीय संस्थाले राहत शिविरमा सुरक्षित र छुट्टाछुट्टै शौचालय, पर्याप्त प्रकाश, महिलाका लागि आवश्यक सरसफाइ सामग्री तथा गोपनीयताको व्यवस्थालाई आधारभूत मानवीय आवश्यकताका रूपमा स्वीकार गरेका छन् ।
विशेषगरी जापान, बंगलादेश र विभिन्न दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशका विपद् व्यवस्थापन अनुभवले समुदायस्तरको तयारीलाई महत्व दिएका छन् । स्थानीय महिला, स्वयंसेवक र समुदायलाई पहिले नै प्राथमिक उपचार, खोज तथा उद्धार र आपत्कालीन व्यवस्थापनसम्बन्धी तालिम दिँदा विपद्का बेला उद्धार कार्य अझ प्रभावकारी बन्ने अनुभव देखिएको छ । स्थानीय समुदाय आफैं तयार भएमा बाहिरबाट उद्धार टोली पुग्नुअघि नै प्रारम्भिक सहयोग गर्न सकिन्छ ।
नेपालले पनि यस्ता अनुभवबाट सिक्नुपर्छ । प्रत्येक स्थानीय तह र वडामा महिला र युवालाई समेटेर समुदायस्तरीय खोज तथा उद्धार टोली तयार गर्न सकिन्छ । उनीहरूलाई प्राथमिक उपचार, सुरक्षित उद्धार, मनोसामाजिक सहयोग र विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम दिनुपर्छ ।
त्यसैगरी प्रत्येक स्थानीय तहले आवश्यक राहत सामग्री पहिल्यै भण्डारण गर्ने व्यवस्था गर्नुपर्छ । खाद्यान्नसँगै महिलाका लागि आवश्यक ‘मर्यादा किट’, प्राथमिक उपचार सामग्री तथा बालबालिका र अपांगता भएका व्यक्तिका विशेष आवश्यकताका सामग्री पनि तयारी अवस्थामा राख्नुपर्छ ।
सुरक्षित आश्रयस्थलको निर्माण गर्दा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, पर्याप्त प्रकाश, सुरक्षित खानेपानी र गोपनीयताको व्यवस्था अनिवार्य हुनुपर्छ । विपद्को समयमा महिला, बालबालिका, गर्भवती, सुत्केरी तथा अपांगता भएका व्यक्तिको छुट्टै विवरण राख्ने प्रणालीले राहतलाई वास्तविक आवश्यकता अनुसार वितरण गर्न सहयोग पुर्‍याउँछ ।
विपद्को अर्को संवेदनशील पक्ष सामाजिक सञ्जालको प्रयोग पनि हो । सामाजिक सञ्जाल सूचना प्रवाहको शक्तिशाली माध्यम हो, तर पीडितको दुःखलाई ‘भ्युज’ र ‘लाइक’ का लागि प्रयोग गर्नु मानवीय संवेदनशीलताविपरीत हो । रोइरहेका महिला, डराएका बालबालिका वा असहाय अवस्थामा रहेका पीडितको अनुहार देखाएर सामग्री बनाउँदा उनीहरूको आत्मसम्मान र गोपनीयतामाथि चोट पुग्न सक्छ ।
राहत दिँदा पनि पीडितलाई क्यामेराअगाडि उभ्याएर याचकजस्तो देखाउनु उचित होइन । उद्धारमा खटिएका व्यक्ति र संस्थाले आफ्नो पहिलो जिम्मेवारी फोटो खिच्नु होइन, मानिसको जीवन र सुरक्षाको रक्षा गर्नु हो भन्ने कुरा सम्झनुपर्छ ।
रसुवा बाढी प्राकृतिक विपद् हो । तर यसले हाम्रो तयारी, सोच र व्यवहारको पनि परीक्षा लिएको छ । विपद् सधैँ रोक्न सकिँदैन, तर त्यसबाट हुने क्षति घटाउन सकिन्छ । त्यसका लागि राज्यको प्रभावकारी योजना, स्थानीय सरकारको तयारी, समुदायको सहभागिता र नागरिकको जिम्मेवार व्यवहार आवश्यक हुन्छ ।
अन्ततः विपद्मा सबै मानिस जोखिममा पर्छन्, तर सबैको आवश्यकता एउटै हुँदैन । त्यसैले राहत पनि सबैलाई एउटै सामग्री बाँड्ने काम मात्र होइन । महिलाको स्वास्थ्य, सुरक्षा, गोपनीयता र मर्यादाको रक्षा गर्नु पनि राहतकै अभिन्न हिस्सा हो । त्यसैले रसुवाको विपद्ले हामीसामु एउटा गम्भीर प्रश्न खडा गरेको छः अर्को विपद् आउँदा हामी फेरि उद्धारका लागि दौडिने मात्र, कि त्यसअघि नैं महिला संवेदनशील र समुदायमैत्री तयारी पनि गर्ने ?
(लेखिका सामाजिक अभियन्ता हुन्‌)

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ३ : १६ बजे

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको

सुनाए बाढीबाट ज्यान जोगाउँदाको भयावह अनुभव

‘अगाडि जान सकिन, पछाडि भीषण बाढी थियो’ नुवाकोट । रसुवाको

बाढी प्रभावितका लागि काठमाडौं महानगरले सातवटा एम्बुलेन्स परिचालन गरेको छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती