‘अगाडि जान सकिन, पछाडि भीषण बाढी थियो’
नुवाकोट । रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान जोगाएका प्राविधिक तथा इन्जिनियरहरू सकुशल नुवाकोटको विदुर आइपुगेका छन्।
बाढीको जोखिमबाट बच्ने क्रममा नाङ्गो खुट्टामै दौडिनुपरेको, अगाडि खसिरहेका विद्युत् प्रसारण लाइन र रूखका हाँगाबीच अल्झिनुपरेको तथा पछाडि भीषण बाढी रहेकाले अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट ज्यान जोगाउनुपरेको उनीहरूले बताएका छन्। चिलिमे हाइड्रोपावर क्षेत्रमा कार्यरत एक इन्जिनियरले बाढी बढ्दै गएपछि आफूहरू तत्काल सुरक्षित स्थानतर्फ दौडिएको बताए। भाग्ने क्रममा उनले चप्पलसमेत फालेर नाङ्गो खुट्टामै दौडिनुपरेको अनुभव सुनाए। ‘मैले चप्पल फालिदिएँ, नाङ्गै खुट्टा दौडिएँ,’ उनले भने। तर, सुरक्षित स्थानतर्फ अघि बढ्ने क्रममा माथिबाट विद्युत् प्रसारण लाइनका तार खस्न थालेपछि अवस्था झन् भयावह बनेको उनले बताए। उनका अनुसार खसेको तार अगाडि रहेको रूखको हाँगामा ठोक्किएको थियो। त्यसलगत्तै उक्त हाँगासमेत आफ्नै अगाडि खसेपछि उनी अगाडि बढ्न सकेनन्।
‘माथिबाट तार खस्यो, अगाडि झर्यो अनि रूखको एउटा हाँगामा हान्यो, त्यो हाँगो पनि आफ्नै अगाडि झर्यो। अगाडि जान सकिन, पछाडि बाढी थियो,’ उनले भने। अगाडि बढ्दा थप जोखिम र पछाडि फर्किँदा भीषण बाढी भएकाले आफू केही समय त्यहीँ अड्किएको उनले बताए। जथाभावी भाग्दा लडेर दुर्घटनामा पर्न सक्ने जोखिमसमेत महसुस भएको उनको भनाइ छ।
त्यसपछि प्रसारण लाइनको संरचनासहितको अर्को भागसमेत अचानक खसेको उनले बताए। त्यसबाट जोगिन आफू र सहकर्मी वसन्त तत्काल फरक दिशातर्फ हटेको उनको भनाइ छ। बाढी र माथिबाट खसिरहेका संरचनाबीच जोखिमपूर्ण यात्रा पार गर्दै उनीहरू केही माथिको सुरक्षित स्थानमा पुगेका थिए। त्यहाँ केही समय बसेपछि उनीहरूलाई उद्धार गरी विदुर ल्याइएको हो।
बाढीको त्रासदीपूर्ण अवस्थाबाट सकुशल बाहिरिन पाउनु आफ्ना लागि नयाँ जीवन पाएजस्तै भएको इन्जिनियर तथा प्राविधिकहरूले बताएका छन्। अहिले विदुर आइपुगेका उनीहरू एकअर्कासँग आफूले भोगेका भयावह क्षण र ज्यान जोगाउँदाका अनुभव साटासाट गरिरहेका छन्।







प्रतिक्रिया