समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न उठ्दा हामीले वर्तमानलाई मात्र हेरेर पुग्दैन । विगतमा कठिन परिस्थितिका बीच महिलाहरूले खेलेको भूमिका, उनीहरूले देखाएको साहस र समाजका लागि गरेको योगदानबाट पनि आजको पुस्ताले प्रेरणा लिनुपर्छ । सिन्धुलीको सन्दर्भमा भद्रकुमारी घले, पद्मा घिमिरेलगायत अग्रज महिलाले सामाजिक तथा सार्वजनिक जीवनमा देखाएको नेतृत्व हाम्रो लागि महत्वपूर्ण विरासत हो । त्यो इतिहासलाई सम्झिँदै नयाँ पुस्ताका महिलाले आफ्नो क्षमता र सम्भावनालाई अझ फराकिलो बनाउँदै लैजान जरुरी छ ।
केही दिनअघि नेतृत्व मैत्री महिला मञ्चको कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । यो मेरो दोस्रो सहभागिता थियो । सामाजिक र राजनीतिक रूपमा सचेत रहँदै आएका तर राजनीतिभित्र देखिने अस्वस्थ प्रतिस्पर्धा, सत्य स्वीकार्न नसक्ने प्रवृत्ति अहिलेको राजनीतिमा जर्वजस्त छ । तथ्यका आधारमा सत्य स्थापित गर्ने मान्यतामा विश्वास गर्नेहरूका लागि ‘नेता म’ जस्तो अभियानले नयाँ उत्साह थपेको अनुभूति भयो । यस्तो मञ्चले महिलालाई केवल एउटै कार्यक्रममा भेला पार्ने मात्र होइन, विचार, अनुभव र नेतृत्व क्षमतालाई जोड्ने अवसर प्रदान गरेको अर्थका रुपमा मैंले अनुभूति गरेको छु ।
सिन्धुलीको इतिहासमा महिलाको योगदान नयाँ विषय होइन । भद्रकुमारी घले र पद्मा धिमिरेजस्ता अग्रज महिलाले आफ्नो समयको सामाजिक परिवेश र चुनौतीबीच नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनीहरूको योगदानले एउटा महत्वपूर्ण सन्देश दिइस्केको छ । महिलाले अवसर पाए मात्र नेतृत्व गर्न सक्छन् भन्ने होइन, आवश्यक पर्दा अवसर आफैं सिर्जना गरेर पनि नेतृत्वको बाटो खोल्न सक्छन् ।
आजको पुस्ताले त्यही इतिहासबाट आत्मविश्वास लिनुपर्छ । विगतमा सीमित स्रोत, कमजोर पहुँच र अनेक सामाजिक चुनौतीका बीच महिलाहरूले आवाज उठाउन सके भने आज सूचना, शिक्षा, सञ्चार र प्रविधिको पहुँच विस्तार भएको समयमा महिलाले अझ प्रभावकारी भूमिका खेल्न सक्छन् । त्यसका लागि सबैभन्दा पहिले आफ्नै सुदृढ गर्न र आफ्नो कामको दायरा फराकिलो बनाउन आवश्यक छ ।
समुदायका समस्या महिलाका लागि टाढाका विषय होइनन् । खानेपानीको अभाव, विद्यालयको अवस्था, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा, बेरोजगारी, हिंसा, सामाजिक सुरक्षा, कृषि, उद्यमशीलता र परिवारको आर्थिक अवस्था जस्ता विषयसँग महिलाको दैनिक जीवन प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले यस्ता समस्याको पहिचान र समाधानमा महिला नेतृत्वको सहभागिता अर्थपूर्ण हुन्छ ।
तर नेतृत्वको बाटोमा सबैभन्दा ठूलो चुनौती महिलाबीचकै विभाजन बन्नु हुँदैन । जात, वर्ग, क्षेत्र, राजनीतिक विचार वा व्यक्तिगत सम्बन्धका आधारमा महिलाहरू विभाजित भइरहने हो भने साझा सवाल कमजोर बन्नेछन् । महिला एक्लाएक्लै होइन, एकताबद्ध भएर उभिनुपर्छ, एकताको शक्ति नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो भन्ने तथ्यलाई सबैले स्वीकार्नै पर्छ ।
यसको अर्थ सबै महिलाको विचार एउटै हुनुपर्छ भन्न खोजेको भने होइन । हाम्रा बिचार, चिन्तनहरु फरक हुन सक्छन्, राजनीतिक आस्था फरक हुन सक्छ, काम गर्ने तौरतरिकाहरु पनि फरक हुन सक्छ । तर जनताका साझा समस्या र समुदायको हितका सवालमा एकै ठाउँमा उभिन सकिन्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको यही हो । मत फरक भए पनि उदेश्य भने समाजको हितनैं हो ।
तत्कालिन राजा बिरेन्द्रलाई रचनात्मक सुझाब दिने र गलतमाथि प्रश्न उठाउने भद्रकुमारी घलेले देखाएको बाटोले हामीलाई यही आत्मविश्वास दिन्छ । इतिहास केवल सम्झनाका लागि होइन, भविष्य निर्माणका लागि पनि हो । भद्रकुमारी घले, पद्मा घिमिरेलगायत अग्रज महिलाको योगदानलाई सम्मान गर्ने सबैभन्दा राम्रो उपाय उनीहरूको नाम सम्झनु मात्र होइन, उनीहरूले देखाएको साहस, सामाजिक प्रतिबद्धता र नेतृत्वको भावनालाई नयाँ पुस्ताले निरन्तरता दिनु पनि हो ।
आज सिन्धुलीका महिलासामु स्थानीय तहदेखि सामाजिक संस्था, शिक्षा, व्यवसाय, सञ्चार, राजनीति र सार्वजनिक सेवासम्म नेतृत्व गर्ने प्रशस्त सम्भावना छन् । अबसरहरु पनि अगाडि आएका छन् । अगाडि आएका अवसरको सही सदुपयोग, एकअर्काप्रतिको विश्वास र साझा उदेश्यका लागि सहकार्यनैं पहिलो सर्त हो ।
एक महिला अघि बढ्दा एउटा परिवार अघि बढ्छ । केही महिला अघि बढ्दा एउटा समुदायले नयाँ दिशा पाउँछ । तर सबै महिला आफ्नो क्षमता र आवाजसहित एकताबद्ध भएर अघि बढे सिंगो समाज परिवर्तनको बाटोमा अघि बढ्न सक्छ ।
त्यसैले सिन्धुलीको विगतले दिएको प्रेरणालाई वर्तमानको शक्ति बनाऔं । गलतहरुका बिरुद्ध प्रश्न उठाऔं । अग्रज महिलाले सुरु गरेको नेतृत्वको यात्रालाई नयाँ पुस्ताले अझ फराकिलो बनाऔं, जनताका मुद्धामा एकाकार भएर समस्या समाधान गर्न सकिन्छ भन्ने आत्मविश्वासलाई कहिल्यै नबिर्सौं । (लेखकः सिन्धुलीकी सामाजिक अभियन्ता हुन्)







प्रतिक्रिया