काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित क्षेत्रमा पीडितको चित्कार सुनिन नसक्ने अवस्था रहेको भन्दै संघीय सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा रहेर सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै अध्यक्ष अर्यालले संघीय सरकार जनताको प्रत्यक्ष अनुभूतिमा नदेखिएको टिप्पणी गरेका हुन्। उनले भनेका छन्, ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ।’
उनका अनुसार बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उत्तरगया क्षेत्रमा खोज तथा उद्धारका लागि आवश्यक सहयोग समयमा नपुगेको गुनासो छ। बाढीको सूचना जारी गर्न खटिएका चार कर्मचारी अझै बेपत्ता रहेको तथा सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचानपछि दाहसंस्कार गरिएको उनले जानकारी दिएका छन्।
कार्यपालिका सदस्य ज्ञानु विक तथा केही शिक्षकसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष अर्यालले बताएका छन्। बेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायत क्षेत्रमा ठूलो मानवीय क्षति पुगेको उनको भनाइ छ।
भूकम्पपछि अस्थायी बसोबासमा रहेका सयौं परिवारसमेत बाढीको चपेटामा परेको उल्लेख गर्दै उनले त्रिशूली ३ बी तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत नेपाली तथा विदेशी कर्मचारी र कामदारसमेत ठूलो संख्यामा सम्पर्कविहीन रहेको बताएका छन्।
गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा गएका यात्रुहरूसमेत बेपत्ता रहेको खबर आइरहेको र सडक सम्पर्क पूर्णरूपमा विच्छेद हुँदा उद्धार तथा राहतमा थप कठिनाइ भएको उनको भनाइ छ।
विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समेत समस्या उत्पन्न भएको भन्दै अध्यक्ष अर्यालले मरणासन्न घाइतेको उद्धारका लागि हेलिकप्टर माग्दा पनि समयमै सुनुवाइ नभएको आरोप लगाएका छन्। उनका अनुसार केही घाइतेलाई १० घण्टापछि धुञ्चे अस्पताल पुर्याउनुपर्ने अवस्था आएको थियो।
उनले नदी किनारमा दर्जनौं शव देखिएको र पहिचान भएका शवको दाहसंस्कारका लागि सुरक्षाकर्मीसँग समन्वय गर्दा समेत ‘माथिको आदेश’ बिना काम गर्न नसकिने जवाफ पाएको दाबी गरेका छन्।
बाढीका कारण सुरक्षाकर्मीसमेत बेपत्ता भएको र प्रभावित क्षेत्रमा सीमित प्रहरी जनशक्ति खानापानीको अभावमा खटिरहेको उनले उल्लेख गरेका छन्।
अध्यक्ष अर्यालले केही सञ्चारमाध्यमलाई बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे प्रतिक्रिया दिएपछि गृहमन्त्रीको सचिवालयबाट फोन आएको र ‘नकारात्मक प्रचार नगर्न तथा राजनीति नगर्न’ भनिएको समेत दाबी गरेका छन्।
उनले सरकारप्रति प्रश्न उठाउँदै भनेका छन्, ‘हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ।’
हाल उत्तरगया क्षेत्रका करिब ३५० जना प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा आश्रय दिइएको उनले बताएका छन्। कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्नलगायत सहयोग प्राप्त भए पनि उक्त राहत थप तीन दिनका लागि मात्र पर्याप्त हुने अनुमान गरिएको छ।
प्रभावितहरू विद्यालयको कोठामा म्याट्रेसमा रात बिताउन बाध्य रहेको, नियमित औषधि सेवन गर्ने बिरामी, गर्भवती, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि आवश्यक विशेष सहयोग उपलब्ध गराउन कठिनाइ भइरहेको अध्यक्ष अर्यालले बताएका छन्।
नदी किनारमा रहेका शव सड्न थालेपछि दुर्गन्ध फैलिएको र संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उनले तत्काल शव व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। बिरामीको संख्या बढ्दै गएको र पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने उनको माग छ।
प्रभावित क्षेत्रमा उद्धार, खाद्यान्न, औषधि, सुरक्षित आवास तथा परिवारबाट छुट्टिएका सदस्यलाई पुनर्मिलन गराउने काम तत्काल गर्नुपर्ने अध्यक्ष अर्यालले बताएका छन्।
प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क भएको र आजदेखि तत्काल आवश्यक काम सुरु हुने जानकारी पाएको उल्लेख गर्दै उनले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरबाट ओझेलमा परेका क्षेत्रका पीडितले राहत र उद्धारको प्रत्यक्ष अनुभूति गर्न पाउने विश्वास व्यक्त गरेका छन्।







प्रतिक्रिया