काठमाडौं । तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङ, पहिरेबेँसी, खाल्टे तथा नुवाकोटका विभिन्न बस्ती प्रभावित भएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बाढी प्रभावित यातायात श्रमिकको तत्काल खोजी, उद्धार र अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशवबहादुर थापा (निरु) द्वारा जारी विज्ञप्तिमा प्रभावित यातायात श्रमिकको जीवनरक्षा, उद्धार र राहतका लागि आवश्यक सहयोग तथा समन्वय गर्न संगठन तयार रहेको जनाइएको छ ।
संगठनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण टिमुरे तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको र ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ ।
चीनको केरुङ नाकाबाट सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनरका चालक, सहचालकसहित ठूलो संख्यामा यातायात श्रमिकहरू टिमुरे भन्सार आसपासका क्षेत्रलाई बसोबास तथा विश्रामस्थलका रूपमा प्रयोग गर्दै आएकाले बाढीबाट स्थानीयसँगै सयौँ यातायात श्रमिक प्रभावित भएको संगठनले जनाएको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि टिमुरेमा रहेका संगठन अरनिको रुट ट्रक इकाईका सदस्यहरू सम्पर्कविहीन भएको संगठनले जनाएको छ । सदस्यहरू सम्पर्कविहीन भएपछि संगठन थप गम्भीर र चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ ।
संगठनले सम्पर्कविहीन यातायात श्रमिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि नेपाल सरकार, गृह प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै निकायसँग जोडदार माग गरेको छ ।
त्यसैगरी संगठनले टिमुरे तथा प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार टोली परिचालन गर्न, सम्पर्कविहीन श्रमिकको पहिचान गरी उनीहरूको अवस्था सार्वजनिक गर्न र प्रभावित चालक, सहचालक तथा अन्य यातायात श्रमिकलाई सुरक्षित स्थानमा उद्धार गरी आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यथाशीघ्र यकिन विवरण सार्वजनिक गर्न तथा प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न पनि संगठनले माग गरेको छ ।
संगठनले सम्पर्कविहीन श्रमिकका परिवारलाई धैर्यधारण र संयमता अपनाउन आग्रह गर्दै विपद्को समयमा उनीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
“उद्धारमा ढिलाइ नगरौँ, सम्पर्कविहीन श्रमिकको अवस्था तत्काल सार्वजनिक गरौँ,” संगठनले सरकारसँग अपिल गर्दै भनेको छ ।
संगठनले बाढी प्रभावित क्षेत्रमा रहेका यातायात मजदुर, चालक, सहचालक तथा व्यवसायीको जीवनरक्षालाई उच्च प्राथमिकतामा राखी तत्काल उद्धार अभियान तीव्र बनाउन समेत सरकारसँग आग्रह गरेको छ ।







प्रतिक्रिया