२०८३, २८ भाद्र सोमबार

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग


काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न सरकारसँग उमेरअनुसारको सीमा निर्धारण गर्न माग गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले बालबालिकाको व्यवहारदेखि पारिवारिक सम्बन्धसम्म प्रभावित भइरहेको बताएकी हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा नयाँ खालका विकृति देखिन थालेको दाबी गरिन्। उनले एउटै घरमा परिवारका सदस्यहरूबीच प्रत्यक्ष संवादभन्दा सामाजिक सञ्जालमा आउने सामग्रीले बढी ठाउँ लिन थालेको बताइन्।

‘आज प्रविधिका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भएको छ। समाज धेरै अराजक बनेको छ,’ उनले भनिन्। अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक हुने पारिवारिक झगडा तथा संवेदनशील घटनालाई समेत मानिसहरूले मनोरञ्जनका रूपमा लिन थालेको भन्दै चिन्ता व्यक्त गरिन्। यस्तो प्रवृत्तिले परिवारभित्रको सम्बन्ध कमजोर बनाउँदै समाजलाई नै अस्वस्थ दिशातर्फ धकेलिरहेको उनको भनाइ छ।

अर्यालले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकाको सिर्जनशीलता र सक्रियता घटिरहेको बताइन्। उनका अनुसार बालबालिका बाहिरी गतिविधि, अध्ययन तथा सिर्जनात्मक कामभन्दा मोबाइल र सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्।

‘आज बालबच्चाको मौलिकता हराएको छ। काम गर्ने जाँगर मरेको छ। कोठाभित्र बस्ने बानी परेको छ। साँच्चै भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भनिन्।

अर्यालले अस्ट्रेलियाले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेरसम्बन्धी सीमा तोकेको उदाहरण दिँदै नेपालले पनि यस्तै नीतिगत व्यवस्था गर्नुपर्ने बताइन्। विश्वका अन्य मुलुकहरूले समेत बालबालिकाको डिजिटल पहुँचलाई व्यवस्थित गर्न उमेर र सामग्रीका आधारमा विभिन्न मापदण्ड लागू गरिरहेको उल्लेख गर्दै उनले नेपालले ढिलाइ गर्न नहुने बताइन्।

‘अरू कयौँ मुलुकहरूले पनि छुट्टै खालको मापदण्ड बनाएर अगाडि बढिरहेका छन्, सीमा तोकेका छन्। अब हामीलाई पनि ढिला भएको छ,’ अर्यालले भनिन्।

उनले सरकारले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगको उमेर सीमा, सामग्रीको वर्गीकरण र प्रयोगसम्बन्धी स्पष्ट मापदण्ड तत्काल तय गर्नुपर्ने माग गरिन्।

बालबालिकालाई डिजिटल संसारबाट पूर्ण रूपमा अलग गर्नेभन्दा सुरक्षित र जिम्मेवार प्रयोगको वातावरण बनाउन राज्यले नीतिगत हस्तक्षेप गर्नुपर्ने उनको जोड छ।

प्रकाशित मिति : २०८३, ७ भाद्र सोमबार  ५ : ५२ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल