काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर पार्टीभित्र देखिएको विवाद अब अदालतसम्म पुगेको छ । पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन् ।
देउवा र खड्काको तर्फबाट कानून व्यवसायीमार्फत सर्वोच्चमा रिट दर्ता गरिएको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।
देउवा पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कांग्रेसले अघि बढाएको कार्यतालिका तत्काल रोक्न माग गरेको छ । पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको अवस्थामा उक्त विषयको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको जिकिर छ ।
कांग्रेसले यसअघि असोज १६–१९ गते महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, महाधिवेशनको नेतृत्व र प्रक्रियालाई लिएर पार्टीभित्र दुई धार देखिएका छन् ।
यसैबीच इतर पक्षको भेलाले गगन थापालाई सभापतिका रूपमा अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्व चयन, आधिकारिकता विवाद र पार्टीको आन्तरिक प्रक्रियालाई लिएर कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ ।
सर्वोच्चमा परेको रिटमाथि हुने सुनुवाइले कांग्रेसको १५औँ महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने वा नहुने विषयमा समेत चासो बढेको छ ।







प्रतिक्रिया