काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बस्दैछ।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन, मनोनयन, योजना, कार्यक्रम तथा अभियानका विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुनेछ।
त्यस्तै, संगठनात्मक व्यवस्थापनअन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनबारे समेत निर्णय हुने बताइएको छ।
योजना तथा अभियानतर्फ केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावमाथि छलफल हुनेछ। बैठकले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत आवश्यक निर्णय गर्नेछ।






प्रतिक्रिया