२०८३, २२ श्रावण शनिबार

कांग्रेस विभाजनको बाटो रोकियो, देउवा नेतृत्व फर्किने सम्भावना : प्रकाशशरण महत

कांग्रेस विभाजनको बाटो रोकियो, देउवा नेतृत्व फर्किने सम्भावना : प्रकाशशरण महत


काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको नेतृत्व विवाद तत्काल पार्टी विभाजनको तहमा नपुग्ने संकेत देखिएको कांग्रेस नेता डा. प्रकाशशरण महतले गरेका छन्। उनले अदालतको पछिल्लो प्रक्रियाले पार्टीको वैधानिक नेतृत्वबारे अन्तिम निर्णय गर्ने बाटो खोलेको भन्दै १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति पुनर्बहाली हुनसक्ने संकेत गरेका छन्।

नुवाकोट क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महतले पार्टी कब्जा गर्ने वा एकपक्षीय रूपमा महाधिवेशन अघि बढाउने प्रयासले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठ्ने बताए। आगामी महाधिवेशन निष्पक्ष बनाउन सबै पक्षलाई समेट्ने संरचना अनिवार्य रहेको उनको भनाइ थियो।

महतले निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता टुङ्ग्याउने समिति र विधान समितिलगायत संरचनामा सबै पक्षको प्रतिनिधित्व हुनुपर्ने बताए।

‘हामीलाई अहिले त्यो पनि चाहिएन, एउटा निष्पक्ष संरचना मात्र चाहिएको हो, जसले निष्पक्ष अधिवेशन गराओस्,’ उनले भने।

उनले एउटा पक्षले नयाँ क्रियाशील सदस्यताको सूची पठाउने र त्यसैलाई आधार बनाएर निर्वाचन परिणाम घोषणा गर्ने अवस्था स्वीकार्य नहुने चेतावनी दिए। निर्वाचनसम्बन्धी निर्णय गर्दा सम्बन्धित पक्षलाई सुनुवाइको अधिकार दिनुपर्ने उनको जोड थियो।

‘एकपक्षीय निर्णयबाट कांग्रेस चल्दैन’

महतले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत पार्टी फुटाउन खोजेको आरोप लगाएर नियोजित प्रचार भइरहेको दाबी गरे।

उनले अदालतको निर्णय आफूहरूलाई चित्त नबुझे पनि त्यसलाई स्वीकार गर्दै कानुनी बाटोबाटै अघि बढिरहेको बताए। पुनरवलोकन प्रक्रियामा प्रधानन्यायाधीशकै अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले समस्या देखाएको उनको दाबी थियो।

‘कानुनी सिद्धान्त र अरू त्रुटिपूर्ण निर्णयलाई त्रुटिपूर्ण निर्णय गरेको अवस्थामा पुनरवलोकन हुन्छ, नत्र हुँदैन,’ महतले भने।

निर्वाचन आयोगले पनि विवादित विषयमा सम्बन्धित पक्षलाई सुनुवाइको पर्याप्त अवसर दिनुपर्ने उनले बताए। एक पक्षको कुरा सुनेर मात्रै निर्णय गरिएको भए त्यसले निष्पक्षताको प्रश्न उठाउने उनको भनाइ थियो।

‘देउवा फर्किएपछि नयाँ राजनीतिक परिस्थिति बन्न सक्छ’

महतले पछिल्लो अदालती प्रक्रियाले तत्काल पार्टी विभाजनको सम्भावना रोकिएको दाबी गरे। अब कांग्रेसको नेतृत्वसम्बन्धी अन्तिम निर्णय अदालतबाट हुने भएकाले त्यसअघि नै पार्टीभित्र सहमतिको सम्भावना खोज्न सकिने उनले बताए।

‘अब अदालतले कांग्रेसको नेतृत्व को हुने भन्नेबारे अन्तिम निर्णय गर्ने भएको हुनाले अर्को बाटो जाने कुरा अहिले रोकिएको छ। यसले न्याय पाउने बाटो पनि खुला गरेको छ,’ उनले भने।

उनका अनुसार अदालतको अन्तिम निर्णय १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा आए देउवा नेतृत्वको कार्यसमिति पुनर्बहाली हुनसक्छ। विशेष महाधिवेशनबाट आएको नेतृत्व कायम रहे पनि सबै पक्षलाई समेटेर आगामी महाधिवेशन सम्पन्न गर्ने विकल्प खुला रहने उनको भनाइ छ।

महतले यसअघि विवाद समाधानका लागि निर्वाचन कमिटी वा संयन्त्र गठन गर्ने तथा दुईवटा कमिटी समायोजन गर्नेलगायत विषयमा सहमतिको प्रयास भए पनि त्यसले मूर्त रूप लिन नसकेको बताए। व्यक्तिगत संवादबाट समाधान ननिस्किएपछि आफूहरू सामूहिक रूपमा अघि बढ्न बाध्य भएको उनको भनाइ थियो।

२९ गतेदेखि शक्ति प्रदर्शन कि वैचारिक बहस ?

महतले २९, ३० र ३१ गते हुने भेलालाई पार्टीभित्रको शक्ति प्रदर्शन मात्र नभई वैचारिक र सांगठनिक बहसको थलो बनाउनुपर्ने बताए।

भेलामा कांग्रेसको विचार र सिद्धान्त, राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादमा आएको विचलन, मुलुकको आर्थिक अवस्था, सरकारका कामकारबाही, संगठन सञ्चालन, विधान र विधान संशोधनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए।

उनले देशभरका कांग्रेस नेता–कार्यकर्तालाई २९ गतेको भेलामा सहभागी हुन आह्वान गर्दै पार्टीभित्रको वर्तमान विवादलाई निर्णायक बहसतर्फ लैजान आग्रह गरे।

यसैबीच, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेको भन्दै महतले उनको स्वागतमा सहभागी हुन पनि कांग्रेस कार्यकर्तालाई आह्वान गरेका छन्। देउवा साउन २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसो आउने समय मिलाउने प्रयास भइरहेको उनले बताए।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  १२ : ३५ बजे

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हुन् : प्रभु बैंक

तथ्यहीन प्रचारले बैंकिङ क्षेत्रको विश्वासमा असर पार्ने भन्दै आधिकारिक तथ्यमा

कामना सेवा विकास बैंकको कमाइ बलियो बन्दै, १५ प्रतिशतभन्दा बढी लाभांशको आधार तयार

नाफा ३३ प्रतिशत उक्लियो, ईपीएस २२.७५ रुपैयाँ; सञ्चालन मुनाफा १