काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रियसभामा पेस गर्ने कार्यसूची रहेको छ। यसैबीच, आजै संसद्का पाँचवटा विषयगत समितिको बैठक पनि बस्नेछ।
अर्थ समितिको बिहान ११ बजे बस्ने बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिले मुस्लिम आयोगको कामकारबाही र प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गर्नेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, चुनौती तथा भावी कार्ययोजनाबारे छलफल गर्नेछ भने राज्य व्यवस्था तथा सुशासन समितिले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरेको छ।
त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मुलुकको समसामयिक अवस्था र राष्ट्रिय नीतिका विषयमा छलफल गर्ने कार्यसूची राखेको छ। आजको राष्ट्रियसभा बैठक र संसदीय समितिका बैठकमा सरकारको विपद् व्यवस्थापन तयारी, पशु स्वास्थ्यसम्बन्धी नयाँ कानुनी व्यवस्था तथा विभिन्न मन्त्रालयका कार्यसम्पादनबारे महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया