२०८३, ३ श्रावण सोमबार

विश्वकपको नयाँ युग सुरु, २०३० मा ६ देश र ३ महादेशमा फुटबल महाकुम्भ

विश्वकपको नयाँ युग सुरु, २०३० मा ६ देश र ३ महादेशमा फुटबल महाकुम्भ


काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप अब नयाँ युगमा प्रवेश गर्ने भएको छ। सन् २०३० मा आयोजना हुने विश्वकप पहिलो पटक तीन महादेशका छ देशमा खेलाइने भएपछि प्रतियोगिताले ऐतिहासिक रूप लिने भएको हो।

विश्वकपको मुख्य आयोजना स्पेन, पोर्चुगल र मोरक्कोले गर्नेछन्। तर प्रतियोगिताको १००औँ वार्षिकोत्सवको सम्मानस्वरूप उद्घाटन चरणका तीन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइने फिफाले जनाएको छ। यससँगै विश्वकप इतिहासमै पहिलो पटक युरोप, अफ्रिका र दक्षिण अमेरिका गरी तीन महादेशमा आयोजना हुनेछ।

फिफाको प्रस्तावित तालिकाअनुसार शतवार्षिकी खेलहरू जुन ८ र ९ मा हुनेछन् भने मुख्य उद्घाटन समारोह र बाँकी खेलहरू जुन १३ र १४ देखि स्पेन, पोर्चुगल र मोरक्कोमा सुरु हुनेछन्। फाइनल खेल जुलाई २१ मा हुने अपेक्षा गरिएको छ।

आयोजक राष्ट्र भएकाले स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले स्वतः विश्वकपमा स्थान बनाइसकेका छन्। बाँकी टोलीहरू महादेशीय छनोट प्रतियोगितामार्फत छनोट हुनेछन्।

हाल ४८ टोली सहभागी हुने व्यवस्था रहे पनि फिफाले प्रतियोगितालाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बढी राष्ट्रलाई विश्वकपमा सहभागी गराउने विषयमा छलफल भइरहेको बताएका छन्।

सन् १९३० मा उरुग्वेमा पहिलो विश्वकप आयोजना भएको थियो। त्यसको ठीक १०० वर्षपछि उरुग्वेलाई फेरि उद्घाटन खेल आयोजना गर्ने अवसर दिइएको छ। यही ऐतिहासिक संयोगका कारण २०३० को विश्वकपलाई फुटबल इतिहासकै सबैभन्दा विशेष संस्करणका रूपमा हेरिएको छ।

त्यसपछि सन् २०३४ को फिफा विश्वकप भने साउदी अरेबियामा आयोजना हुनेछ।

प्रकाशित मिति : २०८३, ३ श्रावण सोमबार  १२ : २० बजे

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित

काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोल्यान्डको पाँचौँ राष्ट्रिय अधिवेशनबाट

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय