काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका नेपाली समुदायले विविध साहित्यिक, सांस्कृतिक र स्मरण कार्यक्रम आयोजना गरी मनाइरहेका छन्।
नेपाली भाषालाई साहित्यिक उचाइमा पुर्याउने व्यक्तित्वका रूपमा चिनिएका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेपछि नेपाली समाजमा साहित्यको पहुँच व्यापक बनेको मानिन्छ। उनका कृतिले नेपाली भाषा, संस्कृति र राष्ट्रिय पहिचानलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको साहित्यकारहरू बताउँछन्।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त एक घाँसीबाट प्राप्त प्रेरणापछि समाजका लागि स्मरणीय काम गर्ने संकल्पका साथ साहित्य सिर्जनामा लागेका थिए। रामायणका अतिरिक्त वधुशिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तर लगायतका कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण धरोहर मानिन्छन्।
जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् तथा विभिन्न साहित्यिक संस्थाले आदिकविको प्रतिमामा माल्यार्पण, प्रभातफेरी, कविगोष्ठी, विचार विमर्श र सम्मान कार्यक्रम आयोजना गरेका छन्। देशका विभिन्न जिल्लासँगै भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमार तथा नेपाली भाषी समुदाय बसोबास गर्ने अन्य स्थानहरूमा पनि भानु जयन्ती मनाइँदै छ।
साहित्यकारहरूले भानुभक्तको योगदान केवल रामायणको नेपाली अनुवादमा सीमित नभई नेपाली भाषालाई साझा पहिचानका रूपमा स्थापित गर्न र राष्ट्रिय एकताको भावना बलियो बनाउन समेत ऐतिहासिक रहेको बताएका छन्।







प्रतिक्रिया