काठमाडौं, ४ पुस : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न दवाव परिरहेका बेला असन्तुष्ट समूहले गुटगत भेला गरेर कार्यकर्ताहरूलाई निरास बनाइदिएको छ ।
नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शुक्रबार गुटगत भेला गरेर समस्या समाधानमा गम्भीर छैन भन्ने सन्देश दिएको चर्चा हुन थालेको छ । दाहाल–नेपाल समूहको भेलालाई उपाध्यक्ष वामदेव गौतमले बहिस्कार गरेर आफ्नै समूहलाई तनाब दिएका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीमाथि दवाव सिर्जना गर्ने नाममा दाहाल–नेपाल गुटको हर्कतको विरोध हुन थालेको छ । उनीहरूका कारण नेकपा झन् समस्यामा परेको नेताहरूले बताएका छन् ।
ओलीलाई दाहालले संगीन आरोप लगाएपछि नेकपाभित्र विवाद बढेर गएको छ । पार्टी संकट टार्नभन्दै लगातार तीन पटकसम्म स्थायी समितिको बैठक स्थगन भए पनि नेकपाका दुवै समूह एकातिर सहमतिको प्रचार र अर्कोतिर विभाजनसम्मका तयारी गरेका छन् ।
प्रधानमन्त्री ओली समूहले पनि मदन भण्डारी फाउण्डेशनका नाममा जिल्ला–जिल्लामा भेला र बालुवाटारमा शीर्ष नेताहरूको नियमित बैठक र परामर्श जारी राख्दै आएको छ ।
ओलीलाई साइजमा ल्याउन दाहाल र नेपाल समूहले जिल्ला र प्रदेशस्तरका भेला गरिरहेका छन् । दाहाल–नेपाल समूहको शुक्रबारको भेलालाई धेरैले आलोचना गरेका छन् । यो भेलाले सहमति खोज्ने कुरालाई टाढा गरिदिएको एक नेताले बताएका छन् ।
स्थगित स्थायी समितिको बैठक पुस ५ मा र केन्द्रीय कमिटी बैठक पुस १० मा बस्दैछ । बैठक बस्नु अगाडि नै आफ्नो पक्षमा माहोल बनाउन दाहाल–नेपाल समूहको कार्यले धेरैलाई तनाब बनाइदिएको छ
प्रतिक्रिया