२०८३, १५ श्रावण शनिबार

गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक

गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक


काठमाडौँ, २९ मङ्सिर: प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएको छ महिनासम्म पनि गोकर्ण प्राथमिक अस्पतालमा एक्स–रे र इसिजी यन्त्र चलाउने प्राविधिक एवं राख्ने कक्षसमेत छैन । प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते प्राथमिक अस्पतालमा स्तरोन्नति गरिएको थियो । राजधानीकै नगरपालिकाको स्वास्थ्य केन्द्रको यस्तो अवस्था छ भने दूरदराजको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।

प्रदेश नं. ३ सरकारको रु ५० लाख सहयोगमा केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको हो । केन्द्रबाट अस्पतालमा स्तरोन्नतिको घोषणा गर्न मुख्यमन्त्री डोरमणि पौडेल नै गोकर्ण आउनुभएको थियो । अस्पतालमा स्तरोन्नति भएपछि २४ सै घण्टा सेवा उपलब्ध गराउनुपर्ने भए पनि हाल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र अस्पताल खुल्ने गरेको छ । अस्पतालमा १५ शय्या रहने भनिए पनि त्यसको व्यवस्था छ महिनासम्म पनि हुन सकेको छैन ।

अस्पतालमा एक्स–रे यन्त्र चलाउने प्राविधिक जनशक्तिसमेत नभएको अस्पताल व्यवस्थापन समिति सदस्य राजकुमार श्रेष्ठले रासससँग स्वीकार गर्नुभयो । अस्पतालमा कार्यालय सहयोगीसहित २१ जनाको दरबन्दी भए पनि हाल १६ जना मात्र कार्यरत छन् । करारका चिकित्सक भने तीन जना छन् । एक जना प्रदेश सरकारले उपलब्ध गराएको हो ।

अस्पतालका ल्याब निरीक्षक नारायण खनाल ल्याबका प्राविधिक कर्मचारी करारमा राखिए पनि एक्स–रे चलाउने प्राविधिक पाउन नसकिएको बताउनुहुन्छ । “एक्स–रे यन्त्र आएको एक वर्ष भयो, पहिले राख्ने ठाउँ थिएन, बल्ल राख्ने ठाउँ बन्यो, अब एक्स–रे र इसिजी चलाउने जनशक्तिको प्रतीक्षामा छौँ”, उहाँले भन्नुभयो । विसं २०३१ मा बनेको भवनमा अस्पताल चलाइएकाले ठाउँ पु¥याउन अप्ठ्यारो परेको हो । अस्पताल बनाउन उपयुक्त जग्गाको खोजी भइरहेको छ । राष्ट्रिय शहीद स्मारकसँग अस्पताल बनाउने जग्गा माग गरिएको व्यवस्थापन समिति सदस्य श्रेष्ठले सुनाउनुभयो ।

अस्पतालमा स्तरोन्नति भएको बोर्ड झुण्ड्याएपछि दैनिक १०० भन्दा बढी बिरामी जचाँउन आउने गरेका छन् तर स्वास्थ्यकर्मी नै नभएपछि उपचार नपाई निजी अस्पतालतिर लाग्न बाध्य छन् । अस्पतालमा हाल निःशुल्क पाइने ७० प्रकारका औषधि भने उपलब्ध भइरहेको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सेवा दिँदा दैनिक एक दर्जन मानिस आइपुग्न मुस्किल हुने अस्पतालको दर्ता पुस्तिकाबाट स्पष्ट हुन्छ ।

थप दरबन्दीका लागि गोकर्णेश्वर नगरपालिकासँग माग गरिएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । प्रदेश सरकारले अस्पतालमा स्तरोन्नति गरेपछि नगरपालिकाअन्तर्गत सञ्चालन हुने भनिएको छ, तर नगरपालिकाले अस्पतालका लागि आवश्यक सहयोग नगरेको स्वास्थ्यकर्मीको गुनासो छ । अस्पतालमा ‘एमडी’ चिकित्सक समेत छैनन् ।

अस्पतालले आफ्नै फार्मेसीसमेत चलाएको छ । फार्मेसीमा सरकारले उपलब्ध गराएका ७० प्रकारका निःशुल्क औषधिका साथै ३० किसिमका अन्य औषधि सःशुल्क खरिद गर्न पाइन्छ । पटकपटक अस्पतालमा सेवा लिन जाँदा पनि स्वास्थ्यकर्मी नभेटी फर्कनुपरेको अस्पताल परिसरमा भेटिनुभएकी बिरामी राममाया श्रेष्ठले बताउनुभयो । नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल बन्यो भनेर खुसी लागे पनि महीनौँसम्म उपचार गराउन नपाउँदा दुःख लागेको उहाँको भनाइ छ ।

अस्पतालका बारेमा गुनासो गर्न कार्यालय प्रमुख मेडिकल अधिकृत सृजना पाण्डेयलाई पटकपटक भेट्न खोज्दा पनि सम्भव नभएको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने सेवाका बारेमा अरु स्वास्थ्यकर्मीलाई जिज्ञासा राख्दा सूचना अधिकारी नतोकिएको भन्दै स्वास्थ्यकर्मी बोल्नै नमान्ने गरेको सेवाग्राही मङ्गलबहादुर तामाङले बताउनुभयो । प्रत्येक स्थानीय तहमा एउटा अस्पताल बनाउने सरकारको नीति छ । यसैगरी विसं २०७७ को अन्त्यसम्म देशभरका सबै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतामा स्तरोन्नति गर्ने तयारीसमेत भइरहेको छ ।

नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना अस्पतालले दुई जना स्टाफ नर्स माग गरेकाले उपलब्ध गराउन लागिएको बताउनुहुन्छ । अस्पताल प्रशासनले एक्स–रे, इसिजीजस्ता यन्त्र चलाउने प्राविधिक कर्मचारीका विषयमा केही नभनेको उहाँले बताउनुभयो । स्तरोन्नति घोषणा गरी अस्पतालकै बोर्ड राखिए पनि दर्ता नहुँदा थप कर्मचारी प्राप्त नभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखा प्रमुख हरिप्रसाद उपाध्याय मन्त्रालयमा अस्पताल दर्ताको प्रक्रियामा रहेकाले त्यसपछि आवश्यक जनशक्ति उपलब्ध हुने विश्वास व्यक्त गर्नुहुन्छ ।गत आर्थिक वर्षकै बजेटबाट केन्द्रलाई अस्पतालमा स्तरोन्नतिको घोषणा गरिएको थियो । अस्पताल दर्ता भएपछि मन्त्रालयले नपठाए पनि नगरपालिकाले करारमा नियुक्त गरी प्राविधिक स्वास्थ्य सेवा दिइने उहाँको प्रतिबद्धता छ ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ४ : ५६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने