२०८३, ३१ जेष्ठ सोमबार

नेकपा स्थायी कमिटी सरकार र पार्टी नेतृत्वको आलोचना

नेकपा स्थायी कमिटी सरकार र पार्टी नेतृत्वको आलोचना


काठमाडौँ, २ पुस  : नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको जारी तेस्रो बैठकमा आज बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रुपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका छन् ।

सरकारले गरेका राम्रै कामको प्रचार गर्न पनि पार्टी शक्ति परिचालन नभएको र यसबीचमा पार्टीलाई विधानानुसार सञ्चालन गर्नमा आनाकानी भएको आवाज स्थायी कमिटीका सदस्यले उठाएका हुन् । पार्टी विधानानुसार कम्तीमा तीन महीनामा हुनुपर्ने स्थायी कमिटीको बैठक नियमित हुन नसकेको, प्रदेश इञ्चार्ज र अध्यक्षहरुको जिम्मेवारी दिँदा विधानको मान्यता पालना नभएको, सरकारले विकास निर्माणका नीतिनिर्माण गर्दा पार्टीलाई परिचालन नगरेको, पार्टीको सरकार हो भन्ने आम अनुभूति दिलाउन नसकिएको गुनासो गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिनुभयो ।

वक्ताले तल्लो तहको एकता चाँडो गरिनुपर्ने, एशिया प्रशान्त शिखर सम्मेलनजस्ता विवादित कार्यक्रममा सरकार र पार्टी नेतृत्व मुछिने जोडिने अवस्था अन्त्य हुनुपर्ने विचार पनि बैठकमा राखे । अध्यक्षको प्रतिवेदनमा पूरक प्रतिवेदन प्रस्तुत गरेका नेता वामदेव गौतमले पार्टी र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अध्यक्षहरुको कार्यभार विभाजन हुनुपर्ने र जनताको चाहनानुसार विकासनिर्माणका कामले गति लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको संविधानको मार्गदर्शन तथा पार्टीले निर्वाचनमा अघि सारेको घोषणापत्रबमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुुत हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको उल्लेख गर्दै पार्टी र सरकारको नेतृत्व लिनुभएका नेताहरुले निराशालाई चिर्दै आशा र उत्साह सिर्जना गर्न कदम चाल्नुपर्ने बताउनुभयो ।

उहाँले पूरक प्रतिवेदनमा भन्नुभएको छ, “तीव्र गतिमा पार्टीको पुनःगठन गर्दै सरकारलाई जनताको अपेक्षाअनुरुपका लोकप्रिय कार्यक्रम घोषणा गर्नेतर्फ पार्टीका प्रमुख नेताहरु लाग्नुहुन्छ कि भन्ने अहिलेसम्मको स्थितिलाई हेर्दा आशा गर्न सकिने अवस्था देखिएन । यस्तो अवस्थामा देशको आवश्यकता तथा नेपाली जनताका आशा–अपेक्षा पूरा गर्नेतर्फ पार्टी र सरकारलाई अघि बढाउन नेपालको कम्युनिष्ट आन्दोलनमा जीवन समर्पित गरेका र त्यसका निम्ति क्रियाशील नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार नेताबाट गम्भीर चिन्ताका साथ सम्पूर्ण नेता र सिङ्गो पार्टीले ध्यान दिनुपर्छ ।”

आजको बैठकमा नेता गौतम, अग्निप्रसाद सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश साह, वेदुराम र शक्तिबहादुर बस्नेतले आआफ्नो विचार व्यक्त गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । सो पार्टीको स्थायी कमिटी बैठक पाँच महीनापछि बसेको छ ।

गत शनिबार शुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी छ । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।

वक्तालाई बीस मिनेट

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनको महत्वका बारेमा चर्चा गर्दै छलफलमा सहभागी हुन सदस्यहरुलाई आह्वान गर्नुभएको थियो । बैठकले प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गर्न प्रत्येक वक्ताका लागि २० मिनेटको समय तय गरेको छ ।
गत जेठ ३ मा भएको तत्कालीन नेकपा एमाले र एनेकपा माओवादी केन्द्र को एकतापछि बनेको नेकपामा केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जिल्ला र जनसङ्गठनको एकता अझै टुङ्गिएको छैन । प्रदेश कमिटीले भने पूर्णता पाइसकेको छ । बैठक मङ्गलबार बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पुनः बस्नेछ ।
– प्रकाश सिलवाल

प्रकाशित मिति : २०७५, २ पुस सोमबार  ६ : ४१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क