२०८३, ८ भाद्र मंगलबार

राजधानीमा छठको तयारी

राजधानीमा छठको तयारी


काठमाडौँ, २५ कात्तिक: उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावटसहित तयारीका काम शुरु भएको छ । वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो । गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा छठको विशेष सफाइका लागि वाग्मती सफाइ महाअभियानको २८७औँ हप्ताको सफाइ गरिएको थियो । नदी किनारको थापाथली, नारायणटार र गोकर्ण क्षेत्रमा तयारी भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी शुरु भएको छ । दुई दशकअघिदेखि राजधानीमा छठको रौनक बढ्न थालेको छ ।

छठ आजदेखि शुरु
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा उपासना गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो ।

यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका श्याम शर्माले बताउनुभयो ।

“षष्ठीका दिन ब्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उहाँले भन्नुभयो । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिइ प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहानैदेखि प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।

सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको राघवेन्द्र यादव बताउनुहुन्छ । “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सूयोग्य वर बधुप्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो ।

सर्वप्रथम छठी माताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञात वास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरि मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको अर्काथरीको मत छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र मनाइने छठ हाल राजधानी र पहाडी क्षेत्रको नदी, पोखरी एवं तालको किनारमा समेत विधिपूर्वक मनाउन थालिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ८ : ४५ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र