२०८३, ३० असार बुधबार

बडादशैँले छुँदैन–मालढुङ्गाका माझी परिवारलाई

बडादशैँले छुँदैन–मालढुङ्गाका माझी परिवारलाई


पर्वत, २ कात्तिक नेपालीहरुको महान् पर्व बडादशैँ घर आँगनमै भित्रिइसकेको छ । शहर बजार जताततै बडादशैँले छपक्कै छोपेको छ । दैनिकजसो खसीबोका, च्याङ्ग्रा काट्ने, मीठो मसिनो खाने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमले भ्याइनभ्याइ छ । तर, यहाँको माझी बस्तीकी चन्द्रकुमारी माझीलाई भने दशैँको वास्ता भएको देखिँदैन ।

शुक्रबारको टीकाको दिन विभिन्न तयारी गर्नुपर्ने भए पनि बस्तीभरिका महिला पुरुष कालीगण्डकी किनारमा बालुवा निकाल्न व्यस्त छन् ।“सधैँ एकनासले दिनभर बालुवा नउठाए भोकै भइन्छ”, चन्द्रकुमारीले भन्नुभयो, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन्, फुर्सद र धन भए पो चाडबाड ।”

पोखरा–बागलुङ राजमार्गअन्तर्गत कुश्मा–१ पाङमा पर्ने कालीगण्डकी किनारमा करीब १५० परिवारको बस्ती छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालतिर धादिङ, गोरखा र तनहुँलगायतबाट आएका मजदूरहरू यही छाप्रा बनाएर बसेका हुन् । तर, उनीहरूसँग घरबास गरेका ठाउँको न लालपूर्जा छ, न त काम नचलेका दिनको गाँसको ठेगान । राजमार्गको काम गर्दै यहाँसम्म आइपुगेपछि स्थायी बसोबास गरेकाहरू सडकको काम सकिएपछि बेरोजगारजस्तै बने ।

नियमित आम्दानीको स्रोत नभएपछि नजिकैको कालीगण्डकी किनारमा बालुवा निकाल्ने र गिट्टी कुटेर जीविका गर्नुको विकल्प नभएको उनीहरू बताउँछन् । यहाँका करीब १५० मध्ये अधिकांश परिवार यही पेशामा छन् । वर्षाका बेला कालीगण्डकीको भेलले बगाउने बालुवा किनारमा थुपारेर हिउँदभर बेच्ने मुख्य पेशा हो । त्यसबाहेक गिट्टी कुटेर पनि बिक्री गर्छन् । “बर्खामा नदीमा बाढी आउँदा बालुवा निकाल्नै सकिन्नँ”, स्थानीय कला माझीले भन्नुभयो, “धेरै दिन बाढी आए भोकभोकै बस्ने हो ।” यो बस्तीमा सयजनाको हाराहारीमा महिला छन् । उनीहरूमध्ये ७० भन्दा बढी महिला बिहानैदेखि दिनभर बालुवा निकालेर किनारमा थुपार्छन् । केहीले भने बङ्गुर र कुखुरा पालेका छन् ।

कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीले यिनीहरूबाट प्रतिट्र्याक्टर रु दुई हजार २०० देखि रु दुई हजार ७०० मा बालुवा खरिद गर्छन् । व्यवसायीले किनेको बालुवा बजारमा रु पाँचदेखि छ हजारमा बिक्री गर्छन् । “हाम्रो पसिनामा पनि कमिसन खान्छन”, बालुवा निकाल्दै गरेकी प्रमिला गुरुङले भन्नुभयो, “ठेकदारले नाफा बढी लिँदा दुःख खेर गएको छ ।”

बालुवा बिक्रीमा व्यवसायीले लगाएको एकाधिकार ‘सिन्डिकेट’कै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् । यहाँका अधिकांश पुरुष निर्माण मजदूर तथा ट्र्याक्टरमा काम गर्छन् । केही खाडी मुलुकमा वैदेशिक रोजगारीमा छन् । विपन्न र गरीबीका कारण बालबालिकालाई राम्रो शिक्षा दिन सकेका छैनन् ।

विसं २०६३ मा निर्मित स्थानीय विद्यालयमा ३ कक्षामाथि पढाइ हुँदैन । मुस्किलले ३ कक्षा पढेपछि उपल्लो कक्षा पढ्न बागलुङ सदरमुकाम पुग्नुपर्छ । त्यहाँसम्म पुग्न एकतर्फी बस भाडा रु १० लाग्छ । दैनिक आउजाउ गर्दा रु २० । बसभाडा तिर्ने पैसाकै अभावमा ३ कक्षापछि अधिकांशले छोराछोरी विद्यालय पठाउँदैनन् ।

बस्तीमाथिको ढिस्को खसेर बेलाबेला भएको बास पनि तहसनहस पार्छ । दुई वर्षअघि खसेको पहिरोले यहाँका नौ वटा छाप्रा पुरेको थियो । –लक्ष्मीप्रसाद सापकोटा

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ६ : ४९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै