२०८३, १५ श्रावण शनिबार

नातिनातिनीसँगै विद्यालय जान थालें ६६वर्षीया कृष्णकुमारी

नातिनातिनीसँगै विद्यालय जान थालें ६६वर्षीया कृष्णकुमारी


खोटाङ, २५ असोज नातिनातिनीसँगै विद्यालय जानुहुने ६६ वर्षीया कृष्णकुमारी गजमेरले ‘क–ख’, ‘ए.बी.सी.डी’ र ‘आकार–उकार’ छिचोली सक्नुभएको छ ।

विसं २००९ मा जन्मनुभएकी कृष्णकुमारी छोरीपट्टिकी नातिनातिनीसँगै सिद्धेश्वरी माविको कक्षा १ मा अध्ययनरत हुनुहुन्छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी स्थानीयवासी कृष्णकुमारी हाल जेठी छोरी यामकुमारी र ज्वाइँ कृष्णबहादुर लोहारसँग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल–२ मा बस्नुहुन्छ ।

लेखपढ गर्न जान्ने भएर फरर पुस्तक पढ्ने, मोबाइल चलाउने, सामान्य हरहिसाब आफँै गर्न सक्ने कृष्णकुमारीको धोको छ । गत वैशाख २ गते दुई नाति र एक नातिनीसँगै कक्षा १ मा भर्ना हुन आउनुभएकी कृष्णकुमारीको गत असार ५ गते भर्ना गरिएको सिद्धेश्वरी माविका प्रधानाध्यापक बिन्दा थापाले बताउनुभयो ।

“पहिला बूढी मान्छे नातिनातिनी लिएर विद्यालय भर्ना हुन आउनुभयो, मेरो पनि भर्ना गरिदिन प¥यो भन्नुभयो, हामीले नपत्याएर बूढी मान्छे ठट्टा गर्छिन् भन्दै पठायौँ,” उहाँले भन्नुभयो, “तर नातिनातिनीसँगै नियमित विद्यालय आउन थालेपछि मात्र कृष्णकुमारीको भर्ना लिएका हौँ ।”

बूढेसकालमा पढ्ने धोको पूरा गर्न चाहनुहुने कृष्णकुमारीले शुरु–शुरुमा कक्षामा कलिला बालबालिकासँग घुलमिल हुन अप्ठ्यारो भएको बताउनुभयो । “अहिले नातिनातिनी उमेरका बालबालिका नै मेरा नजीकका साथी भएको छ, पढ्ने रहर पूरा भयो, जान्ने भएर नातिनातिनीलाई सिकाउँछु,” उहाँले भन्नुभयो, “पाए जागिर पनि खान्छु, ‘क–ख सिकिसकेँ, ए.बी.सी.डी पनि सिकेँ, आकार–उकार सबै आउँछ, स्कूल आउँदा आफ्नो पीर मर्का पनि भुलेँ, अहिले यो मनलाई शान्ति मिलेको छ ।”

कृष्णकुमारीका दुई छोरी र एक छोरा विवाह गरेर आ–अफ्नो व्यवसायमा लागिसकेका छन् । कृष्णकुमारीका छोराबुहारी हेटौँडा बस्छन् । कान्छी छोरी वैदेशिक रोजगारीको सिलसिलमा विदेशमा रहेकी छिन् ।

आठ वर्षअघि श्रीमान् बुद्धिमानको मृत्यु भएपछि कृष्णकुमारी एक्ली हुनुभयो । गाउँमा एक्ली भएपछि कृष्णकुमारीलाई जेठी छोरी र ज्वाइँले आफूसँगै लगेर राखेका हुन् ।

कृष्णकुमारीको तीन छोरामध्ये तीन महीनाको अवधिमा दुइटा बितिसकेका छन् । श्रीमान् पनि बितेपछि कृष्णकुमारीलाई पीडाको खात चुलिँदै गयो । छोराछोरी आ–आफ्नै व्यवसायमा लागेपछि आफू बस्दै आएको घर पनि २०७२ सालको भूकम्पले भत्काइदियो । अहिले कृष्णकुमारीको स्कूले जीवन जिन्दगीका पीडा भुलाउने माध्यम बनेको छ ।

शिक्षकका अनुसार शुरुका दिनमा विद्यालयमा निराशजस्तो देखिने कृष्णकुमारी कलिला बालबालिकासँग घुलमिल गरेपछि अहिले हँसिली देखिनुहुन्छ । ढल्किँदो उमेरकी कृष्णकुमारी जोसका साथ लेखपढमा पनि ध्यान दिनुहुन्छ ।
–केदार मगर

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : २९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा