२०८३, १५ जेष्ठ शनिबार

नेपाली दूतावासबाटै मानव तस्करी

नेपाली दूतावासबाटै मानव तस्करी


काठमाडौं, असोज ७ : ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। अन्नपूर्ण पोस्ट्ले गरेको अनुसन्धानमा सयौं यस्ता डकुमेन्ट भेटिएका छन्, जसमा प्रविधिको प्रयोग गरी भिजिट भिसालाई रोजगार भिसा बनाइएको छ। र, त्यसमा दूतावासले साथ दिएको छ। उदाहरणका लागि दुबईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले यूएई ल्याएका केही व्यक्तिलाई हेरौं। उसले सेप्टेम्बर २०१७ देखि फेब्रुअरी २०१८ सम्म २ सय ७१ नेपाली यही विधिबाट ल्यायो।

उसले ल्याउन चाहेका नेपालीको ३० दिने भिजिट भिसा निकाल्यो। त्यसलाई नक्कली रोजगार भिसा बनाई नेपाली दूतावासबाट प्रमाणित गरायो। दूतावासले चाहेको भए निःशुल्क डाउनलोड गर्न सकिने ‘जीडीआरएफए दुबई’ नामक एप्सबाटै यसको परीक्षण गर्न सक्थ्यो। अनलाइन परीक्षण गर्ने यस्ता धेरै विधि छन्, जसले भिसा कस्तो हो भन्ने प्रस्ट देखाउँछन्।

हामीले जीडीआरएफए दुबई र अन्य सफ्टवेयर प्रयोग गरी हेर्दा सयौं संख्यामा टुरिस्ट भिसा निकालेर नक्कली रोजगार भिसा बनाएको पाइएको छ। यसरी फसाइने नेपालीबाट पैसा भने प्रतिव्यक्ति ३ लाख रूपैयाँँभन्दा बढी लिइने गरिएको छ। त्यसको भागबन्डा वैदेशिक रोजगार र अध्यागमन विभाग हुँदै नेपाली दूतावाससम्म आइपुग्ने गरेको कागज उपलब्ध गराउने स्रोतले जनायो। सेटिङमा हुने मानव तस्करीको यो उपल्लो तरिका हो।

यस्तै खाले नक्कली रोजगार भिसामा श्रम स्वीकृति लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई आएका निग्मा शेर्पाले यहाँ आएपछि ठगिएको थाहा पाए। तुरुन्त फिर्ता गर्न कडा कुरा गरे। उनलाई नेपाल पठाइयो। त्यति मात्र होइन, उक्त सेटिङबाट यूएई पठाउने एपोलो ओभरसिज सर्भिसेज म्यानपावरले गत वैशाख ७ गते ३ लाख ५० हजार रूपैयाँ फिर्ता गरिदियो। त्यसको कागज पनि ग¥यो।

सोही दिन उक्त म्यानपावरले पूर्णबहादुर आलेलाई ३ लाख ५ हजार रूपैयाँ, फुर्बा शेर्पा र निमा शेर्पालाई एकै चेकमार्फत ६ लाख ९० हजार रूपैयाँ फिर्ता गरेको छ। एपोलो म्यानपावर कम्पनीले यसरी ११ जनाको प्रतिव्यक्ति झन्डै ३ लाख ५० हजारका दरले ३८ लाख रूपैयाँभन्दा बढी रकम फिर्ता गरेको थियो। कानुनी झमेला र थप विवादबाट बच्न कामदारहरूबाट लिएको रकम चुपचाप फिर्ता गरिदिन ऊ तयार भएको थियो।

पैसा किन धेरै लिइन्छ ?

निग्मा, पूर्णबहादुर, फुर्बा र निमाका उदाहरणले भ्रमणका कागज बनाएर नेपालीलाई लाँदा ठूलो मात्रामा पैसा असुल्ने गरेको देखाएको छ। उनीहरूलाई सेक्युरिटी गार्डको काम भनेर नक्कली रोजगार भिसा बनाई ३० दिने भिजिट भिसामा दुबई ल्याइएको थियो। सेक्युरिटी गार्डको जागिरमा सुविधा राम्रो हुने भएकाले यति धेरै पैसा लिने गर्छन्। तर, उनीहरूलाई घुम्न जाने भिसामा छिराइएको थियो।

यूएईमा रोजगार भिसामा बिचौलिया लाग्छन्। लिन महँगो गर्छ। त्यही अति सस्तोमा आउने भिजिट भिसा निकाल्छन्। फोटोसपमा बदलेर रोजगार भिसा बनाउँछन्। नेपाली दूतावासले छाप लगाइदिन्छ। त्यही आधारमा नेपालमा वैदेशिक रोजगार विभागले श्रम स्टिकर हानिदिन्छ।

सम्बन्धित कामदारलाई नेपालको विमानस्थलमा एउटा, यूएईको विमानस्थलमा अर्कै कागज दिन सिकाइन्छ। जब ऊ नक्कली विधिबाट यूएई आइपुग्छ, काम पाउँदैन र ठगिएको थाहा पाउँछ। त्यतिन्जेल उसको ठूलो मात्राम पुँजी फसिसकेको हुन्छ।

फाल्कोन फोर्सका नेपाली एजेन्ट धनुषा लगमागाढा गुठीका इसराफुल शाह यस्ता कार्यमा संलग्न रहेको पाइएको छ। शाह गत वर्ष नेपाली दूतावासले जारी गरेको प्रेष विज्ञप्तिमा ठग, दलाल र मानव तस्करको सूचीमा २२ औं नम्बरमा सूचीकृत छन्। दूतावास आफैले मानव तस्कर भनिएको व्यक्तिले ल्याएको डिमान्ड स्वीकृत गर्दै नक्कली भिसालाई प्रमाणित गरेको थियो।

स्रोतका अनुसार गत वर्ष सेप्टेम्बरदेखि हालसम्म उक्त कम्पनीबाट ३० दिने भिजिट भिसालाई नक्कली इम्प्लोइमेन्ट बनाएर झन्डै ५ सय ५० नेपाली दुबई आएका छन्। नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागर फुँयालले आफूहरूले पहिले नै स्वीकृति दिएका डिमान्डहरूका आधारमा नयाँ भिसाको भेरिफिकेसन गर्ने गरेको बताए। पूर्व कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको समयदेखि गर्दै आएको कामलाई आफूले निरन्तरता दिएको फुँयालले बताए।

शाहमार्फत फाल्कोन फोर्सका अर्का एजेन्ट भनेर चिनिएका शिशिरकुमार शाहीले सिनामंगलमा रहेको इम्प्लोइमेन्ट रिक्रुमेन्ट एजेन्सीलाई दिएको ३० दिने भिजिट भिसामा आएका नेपालीहरू दुबईबाट फर्केपछि यस्तो धन्दाको पर्दाफास भएको हो। यो मेनपावर कम्पनीले पनि दुबईबाट फर्केर गएकाहरूको पैसा फिर्ता गरेको थियो।

वैदेशिक रोजगार विभागले युएईस्थित फाल्कोन फोर्स कम्पनीमा कामदार पठाउन साम इन्टरनेसनल प्राइभेट लिमिटेड, भीरकोट काली ओभरसिज, इभर ग्रिन इम्प्लोइमेन्ट, दिया रिक्रुमेन्ट र इम्प्लोइमेन्ट रिक्रुमेन्ट एजेन्सीलाई २०१७ सेप्टेम्बर र अक्टोबरमा मात्र २ सय ७१ भिसालाई स्वीकृति प्रदान गरेको थियो। तीमध्ये अबुधाबी दूतावासले प्रमाणित गरेका ३१ रोजगार भिसा हामीले जाँच्यौं। ती सबै ३० दिने पर्यटक भिसा भएको पुष्टि भएको हो।

बहाना भिसा जाँच्ने संयन्त्र
नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागर फुँयालले नियतवश आफूहरूले कुनै गल्ती नगरेको दाबी गरे। ‘पूर्वस्वीकृति लिएका डिमान्डहरूका आधारमा भिसा भेरिफाई गरेको हो,’ उनले भने, ‘युएई सरकारले जारी गरेको भिसाको अधिकारिता जाँच गर्ने हामीसँग कुनै संयन्त्र छैन।’

उनले भिजिट भिसालाई फोटोसप वा अन्य माध्यमबाट परिवर्तन गरी नक्कली इम्प्लोइमेन्ट बनाइएको पुष्टि भए कारबाही गर्ने उनले बताए।फुँयालले आफूले पूर्वस्विकृत डिमान्डको आधारमा भेरिफाई गरेको बताए पनि उनी कार्यवाहक भएपछि गत २९ जनवरी २०१८ मा साम ईन्टरनेसनल म्यानपावर कम्पनीलाई ६६ वटा भिसाको डिमान्ड स्वीकृत गरेका छन्। यसैगरी उनले फेब्रुअरी २ तारिखमा ३१ भिजिट भिसालाई इम्प्लोइमेन्ट भनेर प्रमाणित गरेका थिए। अघिल्ला कार्यवाहक राजदूत टण्डनले गरेको भिसाको भेरिफिकेसनको संख्या भने खुलेको छैन।

सामान्यत दूतावासले यूएईमा कार्यरत नेपालीले आफन्तहरू भिजिट भिसामा ल्याउनु परेमा कारणसहित नेपाली दूतावासमा निवेदन दिएमा सिफारिस दिने गरिन्छ। डिमान्ड स्वीकृत भइसकेको वा विभागबाट भेरिफाई गर्ने भनेको बाहेक कुनै पनि ईम्प्लोईमेन्ट भिसा प्रमाणित गर्न आवश्यक हुन्न। तर पूर्व कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले तस्करको मिलेमतोमा ३० दिने भिजिट भिसालाई इम्प्लोइमेन्ट भिसा भनी प्रमाणित गरी दलालहरूलाई भिजिट भिसाको व्यापार सहज बनाइदिएका थिए।
-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : २१ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण