२०८१, ७ बैशाख शुक्रबार

माधवसँग केपी चिढिनुका तीन कारण : माधवले गुमाउने केही छैन ?

माधवसँग केपी चिढिनुका तीन कारण : माधवले गुमाउने केही छैन ?


मात्रिका पौडेल,

काठमाडौं ३ भदौ सचिवालय बैठकले आफ्नो तेस्रो वरियता खोसेपछि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘मेरो अपमान गरेर हुर्मत लिन सफल हुनुभएकोमा तपाईलाई बधाइ छ ।’

प्रधानमन्त्री ओलीले ‘त्यसो होइन’ भन्न नभ्याउँदै नेपालले अझ आक्रोशित हुँदै भने, ‘अब तपाईले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाडिहाल्नुस् । नवौं महाधिवेशनको वरियता कायम गर्ने हो भने भीम रावल, अष्टलक्ष्मी र युवराज ज्ञवालीलाई ईश्वर पोखरेल र बिष्णु पौडेलभन्दा माथिल्लो वरियतामा ल्याउँ ।’

अध्यक्ष ओलीले अध्यक्ष वा प्रधानमन्त्री दुवै पद छाड्दिनँ भनेर प्रष्ट जवाफ दिए । नेपालका अरु कुराको जवाफ नदिई निर्णय सुनाउन थालेपछि ‘आजको निर्णयमा मेरो नोट अफ डिसेन्ट रहन्छ’ भनेर बरिष्ठ नेता नेपाल उठेर हिँडे । बैठकपछि नेता नेपालले कोटेश्वरस्थित निवासमा जम्मा भएका नेता–कार्यकर्तालाई यही कुरा सुनाए ।

साउन ३१ गते शुक्रबारको सचिवालय बैठकमा केपी ओलीले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव ल्याउँदा सबै नेताले मुखामुख गरे । गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने निर्णयसँगै बरिष्ठ नेता झलनाथ खनाल उठेर बोल्न थालेपछि एकाएक बैठकको माहौल फेरियो ।

खनालले आफू दुई अध्यक्षपछिको बरिष्ठ नेता भएको भन्दै विगतको त्रुटिपूर्ण निर्णय सच्याउनुपर्ने कुरालाई गम्भीरतापूर्वक राखेपछि माधव नेपालले बुझिसकेका थिए,अब ओलीले छाड्दैनन् ।

ओलीसँग बिच्किएका बामदेवलाई पदको खात लगाइनु र झलनाथले लामो समयदेखि नउठाएको वरियता विवाद त्यही मौकामा उठाउनु संयोगमात्र भए पनि माधव नेपालको मनमा चिसो पसिसकेको थियो ।

यद्यपि खनालले भने आफूले त्यसदिन कुनै नेतासँग सल्लाह नगरी वरियतासम्बन्धी पुरानै माग बैठकमा राखेको बताएका छन् । खनालको सो मागलाई ओलीले आइतबरको बैठकको एजेण्डा बनाइदिए । नेपालको पक्षमा ९ सदस्यीय सचिवालयका कुनै एकजना पनि नेता नबोलेपछि उनले ओलीलाई आफ्नो अपमान गरेकोमा बधाईं दिँदै खनालको वरियता स्वीकार गरे ।

ओली बिच्किनुका तीन कारण

प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपालको तेस्रो वरियता पनि खोस्न किन अग्रसर भए रु जबकि पार्टीभित्र गणितीय शक्तिको हिसाबले नेपाल निर्णायक स्थानमा छन् ।

प्रचण्ड, बामदेव र झलनाथलाई साथमा लिएर ओलीले नेपालसँग बदला लिएको चर्चा पनि नेकपा वृत्तमा चलिरहेका बेला नेपालसँग ओली तीन कारणले चिढिएको उनी निकट नेताहरुसँगको कुराकानीबाट प्रष्ट भयो ।

पहिलो प्रकरण स् माओवादीसँग पार्टी एकीकरणदेखि केही महिनासम्म ओली र नेपालबीच राम्रै सहकार्य थियो । ओलीलाई संसदीय दलको नेता निर्विरोध गराउनेदेखि मन्त्रिपरिषद गठनसम्म पनि नेपाल उनीसँगै थिए ।

नेकपा एकीकरणपछि चारजना स्थायी कमिटी सदस्य पूर्वएमालेबाट थपिँदा ओलीले नेपालको सिफारिसमा रघुजी पन्त र बेदुराम भुसाललाई समेटेका थिए । तर, प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला नेपालले संसदमा दिएको अभिव्यक्तिले ओलीको चित्त दुःखेको एक नेताले बताए ।

नेपालले संसदमा बोल्ने क्रममा देश डुब्न लागेकाले पार लगाउने माझीको खोजी भइरहेको बिम्ब प्रयोग गरेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीको आलोचना गरेका थिए । आफू विदेश भएका संसदबाट आफ्नै बरिष्ठ नेताले दिएको अभिव्यक्तिले ओलीलाई चिढ्याएको थियो ।

नेपालले संसदमा भनेका थिए– हिजो एउटा कार्यक्रममा गीत बजेको थियो, मेरो देश डुब्न लाग्यो, किनारा लगाइदेऊ । हो त्यस्तै मान्छे चाहियो । देश किनारा लगाउने माझी चाहियो । त्यस्तो व्यक्ति फेला परेको छैन, जसले देशका बारेमा सोचोस, राष्ट्रका बारेमा सोचोस् ।

त्यसको जवाफ अनलाइनखबरमार्फत नै ओलीले अमेरिकाबाटै दिएका थिए– ‘देश डुब्दैन, म आउँदैछु ।

दोस्रो प्रकरण स् केपी ओलीकै प्रस्तावमा माधव नेपाल पार्टी एकतापछि झलनाथलाई उछिनेर तेस्रो वरियतामा पुगेका थिए । तर, नेपालले तेस्रो वरियतालाई दुई अध्यक्षबीच समन्वय गर्ने भन्दा पनि दुईजनामा असमझदारी सिर्जना गरेर खेल्ने भूमिकामा प्रयोग गरेको आरोप ओली पक्षको छ ।

नेपालले यसबीचमा ओलीविरुद्ध अर्का अध्यक्ष प्रचण्डसहित सचिवालयका अन्य नेताहरुको मोर्चाबन्दी गर्न खोजेको र आफूसँग निर्णायक शक्ति रहेको भनेर समानान्तर शक्तिको अभ्यास गर्न खोजेपछि ओली चिढिएको उनी निकट नेताहरु बताउँछन् । अरु नेतासँग मिलेर आफूलाई अल्पमतमा पारेर कमजोर देखाउन खोजेपछि ओली भड्किएको उनीहरुको दाबी छ ।

तेस्रो प्रकरण स् मन्त्रिपरिषद गठनदेखि पार्टीका केन्द्रीय कमिटी तथा स्थायी कमिटी गठनसम्म ओली नेपाल समझदारी थियो । तर, प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज तथा अध्यक्ष र सचिव चयन गर्दा नेपालले नोट अफ डिसेन्ट नै लेखे । ओलीका सहयोगीहरुका अनुसार त्यसयता पार्टी एकीकरणका हरेक काममा नेपालले बार्गेनिङ गर्दै भाग खोजेकोमा ओली मौकाको खोजीमा थिए ।

माधव नेपालकै कारण पार्टी एकीकरण प्रक्रिया टुंगिन एक वर्ष ढिला भएको तर्क ओली पक्षको छ । तेस्रो वरियता र तेस्रो शक्ति देखाएर आफूलाई अप्ठेरो पार्न खोजेपछि ओली चिढिएर बरु प्रचण्ड र बामदेव झलनाथसँगै मिलेर नेपालको प्वाँख काट्ने तहमा पुगेको बुझाइ नेताहरुको छ ।

नेकपामा ओली र प्रचण्डबीच समझदारी नहुँदा माधव नेपाल जता लाग्यो उतै बहुमत हुने अवस्था यथार्थ हो । तर नेकपाकै अर्को दुःख के हो भने–माधव नेपालको समर्थनमा जसले बहुमत जुटाए पनि निर्णय गर्ने बेला दुई अध्यक्षमध्ये एक सहमत नहुँदा समग्र प्रक्रियानै अवरुद्ध हुन्छ ।

तत्कालीन एमाले र माओवादीबीच वाममोर्चा गठनदेखि पार्टी एकीकरण प्रक्रियासम्म आउँदा दुवै पक्षले आ–आफ्ना अध्यक्षको निर्णयलाई नै अन्तिम मानेका हुन् । अहिले ओली र नेपाल मिलेर प्रचण्डलाई अल्पमतमा पारे पनि पार्टीका बाँकी प्रक्रिया अघि बढ्न सक्दैनन् । ठीक त्यसैगरी प्रचण्डले पूर्वएमालेका बरिष्ठ नेताहरुलाई आफूतिर पारेर पनि ओलीको सहमति बिना केही गर्न नसकिने ठहर गरेकै हुन् ।

मिले पनि सुख छैन, नमिले पनि हुन्न

राष्ट्रकवि माधव घिमिरेले गौरी खण्डकाव्यमा आमाको निधनपछि दुई छोरीको अवस्थालाई चित्रण गर्दै लेखेका छन्–

यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनी

यी हाँसे पनि सुख छैन यिनले बिर्से कि आमा भनी

नेकपाको अहिलेको अवस्था पनि गौरी खण्डकाब्यको यही श्लोक जस्तै हो । प्रचण्ड र ओली मिले भने विधानविपरीत मिल्ने नमिल्ने जे पनि निर्णय गरिदिन्छन् । उनीहरु नमिल्दा केही पनि निर्णय हुन सक्दैन र पार्टीनै अवरुद्ध हुन्छ । त्यसैले पछिल्लो समय ओली र प्रचण्डबीच केही ‘गोप्य समझदारी’ भएको चर्चा छ ।

नेकपामा कम्तीमा आगामी महाधिवेशनसम्म कुनै पनि निर्णय अल्पमत वा बहुमतको आधारमा हुने अवस्था छैन र विधानले पनि त्यो भनेको छैन । अल्पमत र बहुमत भनेको एकले अर्कोलाई देखाउने र दबावमा पारेर निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने हतियार मात्र हो, जुन हतियार आफू विरुद्ध प्रयोग हुन थालेपछि ओलीले यसपटक चलाखीपूर्वक माधव नेपाललाई एक्ल्याएका हुन् ।

ओलीले आफूविरुद्ध सचिवालयका ५ जना नेताको अलग बैठकदेखि बामदेव गौतमको फरक मतसम्मको सामना गरेकै हुन् । यसबीचमा ओलीले बामदेवलाई अन्याय गरेर माधव नेपालको साथ लिन खोज्दा धोखा पाएको महशुस गरेपछि कोर्ष करेक्सनमा गएको उनी निकट एक प्रभावशाली नेताले बताए । उनका अनुसार ओलीले बामदेवलाई अहिले होइन, दुई वर्षअघि नै न्याय गर्नुपर्ने थियो ।

बामदेव फ्याक्टर

तत्कालिन एमालेभित्र निर्णायक बेलामा बामदेव कहिल्यै माधव नेपालको पक्षमा उभिएनन् । बरु उनले सातौं र नवौं महाधिवेशनमा ओलीलाई बोके । ओलीलाई संसदीय दलको नेता बनाउनेदेखि पार्टी अध्यक्ष बनाउनेमा बामदेव निर्णायक बने । तर ओलीले बचन पालना नगरेको भन्दै बामदेव रिसाएर हिँडेका थिए ।

पछिल्लोपटक ओलीले सोच विचार गरेरै बामदेवलाई आफूपछि पूर्वएमालेका नेता बनाएरै उपाध्यक्ष प्रस्ताव गरेको तथा संगठन विभागको जिम्मा दिएको बताइन्छ । त्यतिमात्र होइन, उनी बामदेवले चाहेमा उपचुनाव लडाउन पनि तयार छन् । पार्टी एकताका दुई सूत्रधारमध्ये एक बिष्णु पौडेललाई महासचिव बनाएका ओलीले अर्का बामदेवलाई उपाध्यक्ष बनाएर कोर्ष करेक्सन गरेको बताइन्छ ।

चाँडै हौसिने स्वभावका बामदेव पनि पछिल्लो समय आफूले पाएको भूमिकाबाट दंग देखिएका छन् । सोमबार विहान भैंसेपाटीमा ‘मर्निङ वाक’ कै क्रममा भेट भएका सोमप्रसाद पाण्डेलगायतका नेकपा नेताहरुसँग उनले भने, पार्टीलाई संकट पर्दा बामदेव गौतमले काँध थाप्छ भन्ने फेरि पनि पुष्टि गरेको छु ।’

माधव नेपाललाई कर्नरमा पारेर बामदेव–झलनाथ र ईश्वर पोखरेलसम्मलाई रोजेको जिम्मेवारी दिलाउन ओलीले प्रचण्डको साथ लिनु आफैंमा महत्वपूर्ण परिघटना थियो । ओलीले आफूनिकट नेताहरुसँग दुई अध्यक्षबीच कसैले खेल्न नखोजे हुन्छ भन्ने प्रष्ट संकेतसमेत गरेका छन् । उनले आफू र प्रचण्डबीच गहिरो समझदारी बनेरै पछिल्ला निर्णयहरु गराएको बताएका छन् ।

सत्ता हस्तान्तरणको लिखित समझदारी पनि प्रचण्ड र ओलीबीचको व्यक्तिगत भएकाले यसबीचमा अरु नेताले खेल्न खोज्दा दुवै नेता थप सहमतिमा पुगेको आँकलन निकटस्थहरुको छ ।

आलोपालो प्रधानमन्त्रीको समझदारी पार्टीका संस्थागत जानकारी बाहिरको विषय भएकाले अरु नेताले चलखेल गर्नुको औचित्य नरहेको उनीहरुको भनाइ छ ।

एक सचिवालय सदस्यले भने, यसबीचमा दुई अध्यक्षबीच अर्को सहमति भएको अवस्थामा बाहेक ओलीले निर्धारित समयमै प्रचण्डलाई सत्ता हस्तान्तरण गर्नुहुन्छ, तर दुईजना बीच अर्को सहमति भयो भने ओलीको निरन्तरता पनि हुन सक्छ । तत्कालका लागि पार्टी सञ्चालनको मुख्य काम ओलीले प्रचण्डलाई नै दिएर आफू सरकारमै मात्र केन्द्रित हुने समझदारी पनि बनेको बताइन्छ ।

माधव नेपाल : गुमाउने केही छैन

नेकपाका पछिल्ला दुई बैठकपछि माधव नेपाल कमजोर बनेका हुन् त रु यो कोणबाट पनि प्रश्न उठेका छन् । ९ सदस्यीय सचिवालयमा माधव नेपालको पक्षमा कोही नबोलेकै आधारमा उनी कमजोर भएको मानियो भने त्यो चाहिँ गलत हुनेछ । किनकी वरियता विवादबाहेक अन्य एजेण्डामा नेपालको विमति खासै देखिएको छैन ।

त्यसो त माधव नेपालले गुमाउने अहिलेलाई नेकपामा केही छैन । उनी प्रधानमन्त्री वा अध्यक्ष होइनन् । तत्काल उनी प्रधानमन्त्रीका आकांक्षी पनि होइनन् । आउने महाधिवेशनमा अध्यक्षका आकांक्षी भने हुन् ।

ओलीले फेरि अध्यक्ष नदोहोरिने भनिरहेको अवस्थामा नेपालका स्वभाविक प्रतिस्पर्धी प्रचण्ड हुन् । नेपाल र ओलीबीचको दुरी प्रचण्डका लागि अवसर पनि हो ।

माधव नेपालले वरियताबाहेक केही पनि गुमाएका छैनन् । उनी निकट नेताहरुको बुझाइअनुसार अब उनलाई आफ्नो शक्ति विस्तारका लागि अझ सहज अवस्था बनेको छ । बामदेव र झलनाथ हिजो पनि माधव नेपालका थिएनन् । प्रचण्डले पनि पूर्वएमालेभित्र खेलेर आफू बलियो बन्न खोजेको नेपाल पक्षको बुझाइ छ ।

नेपाल निकट एक नेता भन्छन्, माधव नेपालसँग गुमाउने केही पनि छैन । तेस्रो वरियता हिजो ओलीले जबर्जस्ती दिएका हुन्, अहिले फिर्ता लिए । माधव नेपालका मान्छे एकजना पनि दायाँ–बायाँ भएका छैनन्, बरु ओली र प्रचण्डसँग असन्तुष्ट भएका नेताहरुलाई समेट्ने अवसर माधव नेपाललाई आएको छ ।

ओली र प्रचण्डले माधव नेपाललाई उपेक्षा गरेर जाने अवस्था पार्टीभित्रको सन्तुलनले पनि दिँदैन । एक त ओली र प्रचण्डको ‘गहिरो समझदारी’ कुन विन्दूमा पुगेर दुर्घटनामा पुग्छ भन्ने नेकपाका नेताहरुलाई नै थाहा हुन्न । त्यही भएरै ओलीबाट एक्ल्याइएका माधव नेपाललाई प्रचण्डले यसबीचमा दुईपटक भेटेर प्रष्टीकरण दिइसकेका छन् ।

अर्कोतर्फ नेपालसँग आफ्नो पूर्वएमालेको गुट एक ढिक्का छ । उनी पूर्वएमालेको गुट संगठित गर्दैछन् । पूर्वमाओवादीका नेताहरु पनि उनीसँग नियमित संवादमा छन् । सन्तुलनकारी नेताका रुपमा नेपाललाई पूर्वमाओवादी नेताहरुले मान्ने गरेका छन् ।

यदि प्रचण्डले रोकेनन् भने आउने स्थायी कमिटी बैठकमा पूर्वमाओवादीका नेताहरु बामदेवलाई उपाध्यक्ष अश्वीकार गर्ने ढंगले जान खोजिरहेका छन् ।

ती नेताहरु माधव नेपाललाई कर्नरमा पारेर पार्टी अघि बढाउन खोजिए दुर्घटना हुन्छ भन्ने लाइनमा छन् । ओली र प्रचण्ड मिलेपछि निर्णय त गर्न सक्छन् तर कार्यन्वयनमा माधव नेपालको साथ चाहिन्छ भन्ने विश्लेषण नेकपाका एकथरी नेताहरुको छ ।

माधव नेपाल सहज र सजिला कम्युनिस्ट नेता हुन् । तर, आफ्नो योगदान र शक्तिको अवमूल्यन उनी सहन सक्दैनन् । ओली र प्रचण्डले छलफलमा सहभागी गराउँदा उनी लचिलो ढंगले प्रस्तुत हुने गरेका छन् । तर, आफूलाई उपेक्षा गरिएको महशुस भएपछि उनी कडारुपमा आउँछन् ।

वरियतासम्बन्धी विवादमा उनको आक्रोश झलनाथसँग भन्दा ओलीसँगै देखिनुले नेकपाभित्रको समीकरण आगामी दिनमा अझ रोचक हुन सक्ने देखिन्छ । नेकपाका स्थायी कमिटी सदस्यका अनुसार ओलीले जुन–जुन नेताको विश्वास जितेर नेपाललाई एक्ल्याएँ भन्ने सोचेका छन्, उनीहरु कहिल्यै स्थिर नेता होइनन् । कुनै पनि बेला उनीहरु माधव नेपालकै साथ लिएर उनीहरु ओलीलाई एक्ल्याउन भेला भए भने त्यो आश्चर्य हुनेछैन ।

किनभने, वामदेव–प्रचण्ड मिलेर ओलीलाई सरकारबाटै बाहिर पठाउने प्रयास हुँदा माधव नेपालले नै रोकेका थिए । अहिले सरकार फेर्नेबारे सोच्नै नसकिने भन्दै माधव नेपालले वामदेव–प्रचण्डलाई थुम्थुम्याएको गुन ओली पक्षले बुझेन भन्ने गुनासो माधव नेपाल निकटका नेताहरुको छ ।अनलाईन खबरबाट साभार

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  २ : २० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता